आँखाको ज्योति नै गुमेपछि बैतडीमा एक दलित दम्पतीलाई जीवनयापन गर्न निकै सकस भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका १ कलौनका ३५ वर्षीय मदन लुहार र २५ वर्र्षीया पार्वती लुहार आँखा नदख्ने भएका छन्। आर्थिक अभावका कारण उनीहरु अस्पताल जान सकेका छैनन्।
दुई छोरा र एक छोरीका अभिभावकसमेत रहेको यो दम्पनीको विवाह १० वर्षअघि भएको थियो। त्यतिबेला पार्वतीको उमेर १५ वर्षको मात्र थियो। मदनले दोस्रो श्रीमतीको रुपमा पार्वतीलाई भित्र्याएका थिए। आफू पनि शारीरिक अशक्त भएपछि मदनले आफूजस्तै जीवनसाथी खोजेका पार्वती बताउँछिन्।
मदन आँखा नदेख्नुका साथै कान पनि सुन्दैनन्। पार्वती ५ वर्षकी हुदा दृष्टिविहीन भएकी थिइन्। सानै उमेरमा आँखामा समस्या रहेको र माइतीको आर्थिक अवस्था कमजोर भएका कारण आफूले उपचार गराउन नपाएको पार्वतीले बताइन्। गरिबीका कारण सानै उमेरमा बिहे गरेकी पार्वतीको पीडा निकै दुखदायी छ। पार्वतीले भनिन्, ‘श्रीमान आँखा देख्न र कान पनि सुन्नुहुन्न, दुवै जना घरको केही काम गर्न सक्दैनौं।’
उनीहरुका १० वर्षका छोरा कक्षा ५ मा पढ्छन्, ६ वर्षकी छोरी कक्षा १ मा पढ्छिन् भने अर्को छोरा भर्खर ६ महिनाको भएको छ। पार्वतीले पिठ्युँमा बोकेको सानो छोरोलाई देखाउँदै भनिन्, ‘तीन वटा छोराछोरी छन्, यिनीहरुको पढाइ र लालनपालनमा पनि समस्या भइरहेको छ।’ अहिले छोराछोरी अलि ठूला भएकोले आफूहरु उनीहरुको सहारामा खाना पकाउने काम गर्ने गरेका र घरबाहिर जानुपरे छोराछोरीले हात समातेर लगिदिने गरेका छन्।
पार्वती भन्छिन्, ‘अशक्त भएकाले पशुचौपाया पनि पाल्न सकेका छैनौं र खेतबारी पनि नभएकोले जिन्दगी गुजार्न सकस भएको छ।’ उतिबेलाको दुःख अहिले आफूले सम्झन नचाहेको पार्वती सुनाउँछिन्। भन्छिन्, ‘यो संसार कस्तो छ, छोराछोरी कस्ता छन्? एकचोटि भए पनि हेर्न मन छ।’ तर उनी यो रहर पूरा नहुने हो कि भन्नेमा चिन्ता गर्छिन्। आफूहरुलाई कसैले पनि नचिनेकाले सहयोग नपाएको गुनासो पनि उनले गरिन्। ‘गाउँलेहरुले समेत हेलाँ गर्छन्, कहिलेकाहीँ तर पिटेर समेत जान्छन्, कसले पिट्यो, थाहै हुँदैन,’ उनले दुख पोखिन्।
अहिले मदन र पार्वती दम्पतीले वार्षिक २४ हजार रुपैयाँ अपांगता भत्ता पाउँदै आएका छन्। भत्ताबाट आउने रकमले नै उनीहरुले दैनिक छाक टारिरहेका छन्।आफूहरुजस्ता अपांगता भएकाका लागि सरकारले विशेष राहत प्याकेज ल्याइदिए धेरै सहज हुने उनी आस गर्छिन्।