सुदूरपश्चिममा बढ्न सकेन कोरोना परिक्षण, समुदायस्तरमा पनि जाँच हुन सकेन् 
2020/09/11, 7:41
 
corona

सुदूरपश्चिममा कोरोना परिक्षणको दायरा वढ्न सकेको छैन् । प्रदेशका तीन स्थानहरुमा पिसिआर मेसिन भएप्छि क्षमता अनुसारको कोरोना परिक्षण हुन नसकेको हो । पछिल्ला दिनमा समुदायस्तरमा कोरोना फैलिदै गएको छ । यसतर्फ पनि कसैको ध्यान जान सकेको छैन् । अर्को तर्फ क्वारेन्टिनको पनि अभाव हुन थालेको छ । 

परीक्षण बढाइएन
प्रदेश सरकारले गत चैत १५ गते डोटी, बैतडी र धनगढीमा पिसिआर मेसिन सञ्चालन गर्ने निर्णय गरेको थियो । निर्णय गरेको लामो समयसम्म मेसिन आएनन् । साढे ४ महिनापछि धनगढी र डोटीमा मेसिन सञ्चालन आएका छन् । बैतडीमा अझै सञ्चालन हुन सकेको छैन। अहिले सुदूरपश्चिममा धनगढी, डडेल्धुरा र डोटीमा गरेर चार वटा मेसिन सञ्चालन भए पनि परीक्षण भने बढ्न सकेको छैन ।

प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डाक्टर गुणराज अवस्थी नमुना संकलन नै कम भएकाले परीक्षण बढ्न नसकेको बताउँछन् । ‘जनशक्ति र नमुना संकलन नै कम भएकाले परीक्षण कम भइरहेको हो,’ उनले भने । बढीभन्दा बढी परीक्षण गर्न विभिन्न स्थानीय तहमा नमुना संकलन गर्ने टोली नै अहिलेसम्म नबनेको उनले बताए । चार वटा मेसिनबाट २४ घण्टामा ४ हजार नमुना जाँच गर्न सकिने भए पनि औसत हजारदेखि ११ सयसम्म मात्र परीक्षण भइरहेको छ । जब कि २४ घण्टामा १२ सय परीक्षण एउटै मेसिनले गर्न सक्छ ।

समुदायमा अझै जाँच भएन
सुदूरपश्चिममा पछिल्ला दिनमा कोरोनाको संक्रमण सुमदायमा देखिन थालेको छ । एउटै परिवारका धेरै जना, एउटै टोलमा धेरैजनामा संक्रमण देखा परेको छ । विज्ञले समुदायमा जनरल जाँच गरेर कोरोनाका संक्रमितलाई आइसोलेसन गर्नुपर्ने सुझाव दिए पनि परीक्षणको दायरा नबढेकाले समुदायमा मास रुपमा जाँच हुन सकेको छैन।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा समेत चरम लापरबाही हुँदा सम्पर्कमा आएका सबै व्यक्तिको समेत जाँच हुन सकेको छैन । संक्रमितको नाम गोप्य राखिने भएकाले जिम्मेवार निकायले कन्ट्याक्ट ट्रेसिङमा लापरबाही गर्नाले सम्पर्कमा आएका व्यक्तिलाई समेत जानकारी नहुने गरेको छ ।

भारतबाट आएकालाई सिधै घर पठाउनु, कन्ट्याक्ट ट्रेसिङमा लापरबाही हुनु, समुदायमा जाँच नगरिनु र परीक्षणको दायरा नबढाइनुले डरलाग्दो रुपमा कोरोनाको महामारी समुदायमा फैलिनसक्ने भन्दै विज्ञहरूले चिन्ता गरेका छन् । ‘परीक्षणको दायरा नै बढाइएको छैन, परीक्षण बढाएर समुदाय स्तरमा जाँच गरिनुपर्छ,’ वरिष्ठ फिजिसियन डाक्टर शुभेषराज कायस्थ भन्छन्, ‘परीक्षणको दायरा बढाइएन भने कोरानाको महामारी भयावह रूपमा फैलिनेछ ।’

प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख अवस्थी भारतबाट आएकाहरू सिधै घरघर जाँदा समुदायमा कोरोना फैलिने अवस्था आएको बताउँछन । सुदूरपश्चिमका मुख्य नाका कैलालीको त्रिनगर र कंचनपुरको गड्डाचौकीबाट प्रत्येक दिन औसत रुपमा २÷३ जना नेपाल फर्किरहेका छन्। संघीय सरकारले विद्यालय खाली गर्न लगाएपछि क्वारेन्टिनको अभावमा भारतबाट आएकालाई सिधै घरघर पठाउने गरिएको बुझिएको छ ।

कोरोनाको आगो दन्किरहेको भारतका विभिन्न ठाउँबाट प्रत्येक दिन सयौं नेपाली घर फर्किरहेका छन्। साउनको सुरुदेखि नै भारतबाट फर्किने सबै नेपालीलाई कुनै जाँच नगरी र क्वारेन्टिनमा समेत नराखी सिधै घरघर पठाइँदै आएको छ ।

क्वारेन्टिनको अभाव
प्रदेश स्वास्थ्य निर्देशनालयले प्रत्येक दिन सार्वजनिक गर्ने विवरणमा क्वारेन्टिन सयौं स्थानमा भएको र हजारौं बेड भएको उल्लेख हुने गर्छ । तर यो झुठो विवरण हो । यसअघि विद्यालयलाई क्वारेन्टिनको रुपमा प्रयोग गरिएको थियो । बाहिरबाट आएका ५० हजार जनाभन्दा बढीलाई राखियो । संघीय सरकारले विद्यालय खाली गर्न निर्देशन दिएपछि साउनको पहिलो सातादेखि सबै विद्यालय खाली गरिएका छन । विद्यालय खाली गरिएपछि क्वारेन्टिनको अभाव भएको हो । अन्य क्वारेन्टिन अहिलेसम्म बनाइएको छैन ।

निषेधाज्ञा तत्कालका लागि अन्य तयारी र व्यवस्थापन गर्न भए पनि यो समाधान नभएको सेती प्रादेशिक अस्पताल कोरोना रोकथाम उपचार विभाग प्रमुख डा. शेरबहादुर कमर बताउँछन् । ‘भारतबाट आएकालाई सिधै घरघर पठाएकाले समुदायमा संक्रमण गएको देखिन्छ,’ उनले भने, ‘अब निषेधाज्ञा मात्र समाधान होइन्, यो बेला परीक्षण बढाउनुपर्छ ।’ संक्रमण देखिएका बिरामीलाई आइसोलेसन र उपचार व्यवस्थापनमा पनि ध्यान दिइनुपर्छ ।

‘४०÷ ५० बेड बढाउनु र केही थान भेन्टिलेटर थप्नुबाहेक अन्य हुन सकेको छैन, समुदायमा महामारी फैलिएपछि अवस्थाको आँकलन गरेर व्यवस्थापन र तयारी गरिनुपर्छ,’ उनले भने, ‘पूर्वाधार थप गर्ने, भेन्टिलेटर थप गर्ने लगायत अन्य व्यवस्थापनको तयारी गरिनु आवश्यक छ ।’

सुदूरपश्चिमका पहाडी ७ जिल्लामा एउटा पनि आइसियु छैन ।  आइसोलेसन नथपिएकाले अभाव छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार चैत १४ गते पहिलो केस देखिएको सुुदूरपश्चिममा अहिलेसम्म ६ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने १४ जनाको ज्यान गएको खबर नागरिकले लेखेको छ ।