कोरोना भाइरस संक्रमितको उपचारका लागि कञ्चनपुरका आठ वटा स्थानीय तहमा पाँच बेडको ‘कोभिड–१९ अस्थायी अस्पताल’ निर्माण हुने भएको छ। कोभिड– १९ सङ्क्रमित बिरामीको उपचारका लागि सरकारले सबै स्थानीय तहलाई पाँच बेडको अस्थायी अस्पताल बनाउन पत्राचार गरेपछि कञ्चनपुरका आठ स्थानीय तहमा कोभिड–१९ अस्थायी अस्पताल निर्माण हुने भएको हो।
कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको आइतबार बसेको ११ औं बैठकले अस्पताल नभएका स्थानीय तहमा अस्थायी अस्पताल निर्माण गर्नका लागि बजेट समेत पठाएको छ। अस्थायी अस्पताल निर्माणका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत प्रत्येक स्थानीय तहमा १० लाखका दरले बजेट निकासा भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए।
उनका अनुसार जिल्लामा कृष्णपुर, पुर्नवास, बेदकोट, बेलौरी, महाकाली र शुक्लाफाँटा नगरपालिका तथा बेलडाँडी र लालझाडी गाउँपालिकामा पाँच बेडका कोभिड अस्थायी अस्पताल निर्माण हुने भएका छन। “प्रत्येक अस्पतालमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगीको व्यवस्था हुनेछ” उनले भने, “यसका लागि स्थानीय स्तरकै जनशक्तिलाई प्राथमिकतामा राखिएको छ।”
निर्माण हुने अस्थायी अस्पताल व्यवस्थापनमा प्रतिबेड रु दुई लाखका दरले खर्च गर्न सक्ने व्यवस्था गरिएको छ। त्यस्तै स्थानीय तहले तीन महिनाका लागि पाँच बेडमा पाँच लाख, औषधिका लागि ५० हजार तथा चकित्सक, नर्स र कार्यालय सहयोगीको पारिश्रमिकबापत चार लाख ५० हजार खर्च गर्न पाउने व्यवस्था गरिएको छ।
तत्काल पाँच बेडको अस्पताल निर्माण हुने भएपनि कोभिड बिरामीको बढ्दो सङ्ख्यालाई मध्यनजर गर्दै त्यसलाई बढाएर १५ बेडसम्म पु¥याउन सक्ने योजना रहेको जनस्वास्थ्य कार्यालयका प्रमुख सुनारले बताए। उनका अनुसार सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लाका ७६ स्थानीय तहमा कोभिड अस्थायी अस्पताल निर्माण हुने भएका छन्। तीमध्ये सबैभन्दा बढी कैलाली र बझाङमा ११/११ वटा स्थानीय तहमा कोभिड अस्थायी अस्पताल निर्माण हुने भएका छन्।
त्यस्तै बाजुरा डोटी, दार्चुला, अछाम र कञ्चनपुरका आठ/आठ, बैतडीका नौ र डडेल्धुराका पाँच स्थानीय तहमा अस्थायी कोभिड अस्पताल सञ्चालन हुने भएका छन।