कैलालीकी पत्रकार निर्मला पहराईको शंकास्पद मृत्युमा अर्की एक युवती पक्राउ परेकी छन्। पहलमानपुरकी रिया भनिने २० वर्षीया धना साउदलाई आइतबार कैलाली प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो।
मृतकका परिवारले किटानी जाहेरी दिएपछि पक्राउ गरिएको कैलालीका प्रहरी प्रमुख एसपी अनुपम राणाले बताए। मृतकका परिवारले कैलाली एफएममै कार्यरत पत्रकार ललित जाग्री र ती युवतीविरुद्ध किटानी जाहेरी नै दिएका छन्। जाग्रीलाई युवतीको शव फेला परेकै दिन शुक्रबार प्रहरीले पक्राउ गरिसकेको छ।
मृतक र उनको बीचमा ललित जाग्री कसको प्रेमि भन्ने विषयमा विवाद भएको बुझिएको प्रहरीले जनाएको छ। ललितको टिकटकको भिडियोमा लाइक गरेपछि उनीहरुबीच विवाद सुरु भएको अनुसन्धानमा देखिएको छ। बुधबारदेखि बेपत्ता २३ वर्षीया निर्मलाको शुक्रबार दिउँसो वडा नं ५ स्थित फुलबारी सामुदायिक वनमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो। रुखको फेदमा चप्पल र छाता तथा केही पर घडी फेला परेपनि निर्मलाको मोवाइल भने फेला परेको छैन।
कैलालीको घोडाघोडी नगरपालिका ४ की निर्मला र ललित कैलाली एफएममा काम गर्थे। बुधबार बिहान १० बजेदेखि हराएकी निर्मला बिहीबारसम्म पनि घर नआएपछि निर्मलाका दाजु बिशालले इलाका प्रहरी कार्यालय सुख्खडमा जानकारी गराएका थिए। दाजु विशाल लगायतका आफन्तले जंगलमा झुण्डिएको अवस्थामा उनको शव फेला पारेका थिए। शव पोष्टमार्टम गरिए पनि रिपोर्ट आइसकेको छैन।