डा गोविन्द केसीको अनसनमा धनगढीबाट पनि ऐक्यवद्धता जनाईएको छ। नागरिक समाज धनगढी र पब्लिक क्याम्पस प्राध्यापक संघ कैलाली बहुमुखी क्याम्पसले डा केसीको अनसनमा ऐक्यवद्धता जनाएका हुन्।
डाक्टर केसीको जीवन रक्षा र उनले उठाएका माग आम जनताका भएकाले अनसनमा ऐक्यवद्धता जनाएको नागरिक समाजका अगुवा प्रमोद पाठकले जानकारी दिए। ‘धनगढीको एलएन चौकदेखि जिल्ला प्रशासन कार्यालयसम्म ¥यालीको आयोजना गरेका थियौँ,’ उनले भने, ‘डाक्टर केसीले अघि सारेका माग आम जनताका भएकाले पूरा गर्नुपर्ने माग सहित प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौ।’
¥यालीमा कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक र धनगढीका नागरिक अगुवाहरुको सहभागिता रहेको थियो।
चिकित्सा शिक्षामा सुधारको माग राख्दै डाक्टर गोविन्द केसीले १९ औँ अनसन जुम्लाबाट सुरु गरेका थिए। जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा उनको १९ औं सत्याग्रह सुरु भएको थियो। उनी सोमबार जुम्लाबाट नेपालगन्ज पुगेका थिए। आज नेपालगन्जबाट बुद्ध एयरको विमानबाट काठमाडौं पुगेका उनलाई विमानस्थलबाटै डाक्टर प्रहरीले जबरजस्ती ट्रमा सेन्टर लगेको थियो।
नेपालीहरुको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता लगायतका माग राँख्दै अनसन सुरु गरिएको थियो। आफूसँग २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने लगायतका मागहरु राखेर डाक्टर केसीले अनसन सुरु गरेका हन्।
पहिलाको सत्याग्रहका बेला गरिएका सम्झौताहरु अहिलेसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफू अनशन बस्न बाध्य भएको उनले बताउँदै आएका छन्।