
कञ्चनपुरमा प्रदेश गौरवको सडकको सिलन्यास गरिएको छ। सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिँह बोहराले कालोपत्रे सडकको सिलन्यास गरेका हुन्। मन्त्रालयका अनुसार प्रादेशिक गौरवको दैजी–जोगबुडा–चिरकिट्टे–बेलापुर–ढुंगाड–देउरा सडक योजना अन्तर्गतको गाइबाधे–लिपना ११ दशमलव ५ किलोमिटर कालोपत्रे सडक सिलन्यास गरिएको हो।

यसैगरी गाइबाधे–जोगबुडा खण्डमा पुर्वाधार विकास कार्यालय डडेल्धुराबाट आर्थिक वर्ष २०७५/०७६ मा ५ं५ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएर काम अगाडि बढेको उनले बताए। त्यसैगरी करिब ४ किलोमिटर रहेको जोगबुडा–खजुरानी खण्ड निर्माणाधीन अवस्थामा रहेको स्वकिय सचिव अवस्थीले बताए।

यस्तै आर्थिक वर्ष २०७६/०७७ मा सलौन–चिरकिट्टे खण्डको ट्रयाक खोल्ने काम सम्पन्न भएको र यसै अर्थिक वर्षमा सडक स्तरोन्नतिको ठेक्का सम्झौता भइसकेकेमा निर्माणको काम अगाडि बढ्ने मन्त्रालयले जनाएको छ।
त्यसैगरी डडेल्धुराको चिरकिट्ट–घटाल–आइतबजार खण्डमा स्तरोन्नतिका लागि काम अगाडि बढाउने तयारि भइरहेको छ भने आइतबजारदेखि झुरकाली हुँदै किर्तिपुरसम्म यसै आर्थिक वर्षबाट कालोपत्रे सडक निर्माण गर्ने गरी अगाडि बढाउने जनाएको छ। उक्त सडक अमरगढी नगरपालिकाको बागबजार भएर जाने भीमदत्त राजमार्गको बैकल्पिक मार्ग(बाइपास) बन्ने भएकाले सहज हसने बताइएको छ।
त्यस्तै पोखरा–बेलापुर–ढुङ्गाड सडक खण्डमा पोखरादेखि नवदुर्गा सम्म १० किलोमिटर सडक कालोपत्रेका लागि आर्थिक वर्ष २०७६/०७७ मा नै ठेक्का सम्झौता भइसकेको छ भने ढुङ्गाड सम्मको ट्र्याक खोल्ने कार्य समेत सम्पन्न भएको छ।
यस्तै ढुङ्गाड–देउरा सडक खण्डमा ट्रयाक खोल्न बाँकि रहेकाले यप वर्ष उक्त सडक खण्डको सम्भाव्यता अध्ययन गरी ट्र्याक खोल्ने कार्या अगाडी बढ्ने मन्त्रीका स्वकिय सचिव केशव राज अवस्थीले बताए। यस सडक आयोजनाको निर्माण पश्चात करिब १५० किलोमिटरको यात्रा तय गरि कञ्चनपुरको दैजीबाट बझाङको देउरा बजार पुग्न सकिने छ।
सडक यातायात नभएको समयमा यो रुट परम्परागत रुपमा आवतजावत गर्ने पदमार्गका रुपमा सञ्चालनमा थियो। यो राजमार्ग तराइ र हिमाल जोड्ने प्रदेशको सबैभन्दा छोटो राजमार्ग बन्नेछ। अबको ३ वर्षमा यस राजमार्गको अधिकांश काम सम्पन्न हुने गरी काम अगाडि बढाइएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।