कामदारको अभावमा कैलालीका उद्योगधन्दा, निर्माणसंग सम्बन्धित कार्य र व्यवसाय प्रभावित भएको भन्दै कैलाली उद्योग वाणिज्य संघले भारतीय कामदारहरुलाई भित्रिन दिन सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएको छ ।
बुधवार कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको नेतृत्वमा गएको उद्योगी तथा व्यवसायीहरुको टोलीले भारतीय कामदारको अभावमा कैलालीका उद्योगधन्दा, निर्माणसंग सम्बन्धित कार्य र व्यवसाय प्रभावित भएको भन्दै उनीहरुलाई भित्रिन दिन मुख्यमन्त्री भट्टसंग आग्रह ग¥यो ।
संघका अध्यक्ष कुवँरले मुख्यमन्त्री भट्टलाई तीन बूँदे ज्ञापन पत्र बुझाउदै लामो समयको लकडाउन र निषेधाज्ञापछि दशैं तिहारको मुखमा बजार व्यवसाय खुला भएपनि कोरोनाका कारण व्यापार व्यवसाय सोचे अनुरुप हुन नसकेको बताए । उनले यस क्षेत्रका उद्योग धन्दा व्यवसायमा काम गर्दै आएका भारतीय कामदाहरुलाई सुरक्षाको मापदण्ड अपनाई भित्रिन दिन आग्रह गरे ।
लक डाउनको अबधिमा भारत गएका भारतीय कामदारहरु लकडाउन खुलेपनि भारतीय नागरिकलाई भित्रिन नदिने सरकारी नीति नेपाल भित्रिन पाएका छैनन । एकातिर कामदारको अभावमा उद्योगधन्दा सञ्चालन हुन कठिनाई भएको छ,कुवँरले भने, अर्कोतिर भारतबाट आउने मालबाहक साधनका निम्ति तोकिएको समय सीमाले व्यवसायीहरुलाई व्यवसाय गर्न कठिनाई भईरहेको छ ।
भारतबाट भित्रिने मालबाहक साधनका लागि तोकिएको बिहान १० देखि ५ बजेसम्मको समय व्यवहारिक नभएको र यसले भीडभाड बढ्नुका साथै व्यवसायीको लगानी र समयपनि बढाएको हुदा बिगतको झै बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म मालबाहक साधन भित्रिन दिन संघका अध्यक्ष कुवँरले आग्रह गरे ।
कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले वर्षभरीमा हुने व्यापारको करीव ६० प्रतिशत व्यापार दशै र तिहारको अबधिमा हुने भएकोले यस अबधिमा भारतबाट भित्रिने मालबाहक साधनका निम्ति समयसीमा तोक्नु अव्यवहारिक र व्यवसायीहरुको हीत विपरित भएको बताए ।
मुख्यमन्त्री भट्टले उद्योगी तथा व्यवसायीहरुलाई परेको पीर मर्का र असुबिधाका बारेमा आफू चिन्तित भएको बताउदै कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलाई सीमामा उत्पन्न समस्या समाधानका लागि निर्देशन दिने प्रतिबद्धता गरे ।