बझाङमा कोरोना प्रयोगशाला सञ्चालनमा
2020/09/24, 3:05
 
corona

जिल्ला अस्पताल बझाङमा कोरोना प्रयोगशाला सञ्चालनमा आएको छ। जिल्ला अस्पताल बझाङले बुधबार बेलुका ७ बजे एक प्रेस विज्ञप्ती मार्फत प्रयोगशाला सञ्चालनमा आएको जानकारी दिएको छ। 

बझाङ प्रयोगशालामा परीक्षण गरिएका ५ ओटा पोजेटिभ र पाँच ओटा नेगेटिभ नतिजा आएका नमुना डडेल्धुरा अस्पतालको प्रयोगशामा प्रमाणिकरणका लागि परिक्षण गर्दा नतिजा समान आएसँगै जिल्ला अस्पताल बझाङको कारोना प्रयोगशालाले पनि मान्यता पाएको हो। 

जिल्ला अस्पतालका कार्यालय प्रमुख डाक्टर सन्दिप ओखेडाले ढिलै भए पनि कोरोना परिक्षण प्रयोगशाला स्थापना गरि सञ्चालनमा ल्याउन सफल भएको भन्दै सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरे। यस प्रयोगशालमा दैनिक २०० नमुना जाँच गर्न सक्ने क्षमता छ।

भदौ २६ गते जिल्ला भित्रिएको पिसिआर जडान गर्ने इन्जिनियर बैतडीको प्रयोगशालामा व्यस्त हुँदा बझाङको प्रयोगशाला जडानमा केही ढिलो भएको थियो।

मेसिन ल्याउनका लागि मेडिसोलुसन इन्टरनेसनल प्राली काठमाडांसँग १ करोड २५ लाख ४२ हजार एक सय भ्याटसहित सम्झौता भएको थियो। गत जेठ २६ गते बझाङका १२ स्थानीय तह र जिल्ला समन्वय समितिको पहलमा पिसिआर मेसिन किन्ने निर्णय भएको थियो।

मेसिन खरिदका लागि नगरपालिका र जिल्ला समन्वयले आर्थिक सहयोग गरेका थिए। नगरपालिका र जिल्ला समन्वयले १५ लाख र गाउँपालिकाहरुले १०/१० लाख छुट्याएका छन्।