अनियमित विद्युत कटौती हटाउन माग गर्दै प्राधिकरणलाई ज्ञापनपत्र
2020/09/25, 5:19
 
Bidhut

 अनियमित विद्युत कटौतीले अनलाईन कक्षा प्रभावित भएको भन्दै कैलालीका विद्यार्थी संगठनले प्राधिकरणको ध्यानाकर्षण गराएका छन्। विद्यार्थी संगठनहरुले संयुक्त रुपमा नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रलाई ज्ञापन पत्र बुझाउदै अनियमित विद्युत कटौती नगर्न माग गरेका छन्।

नेकपा निकट अनेरास्ववियु कैलालीका अध्यक्ष कुमार बडैला, काँग्रेस निकट नेविसंघका अध्यक्ष भेष बम, अखिल (क्रान्तिकारी) कैलालीका अध्यक्ष सुवाश किरण जोशी, अखिल –क्रान्तिकारीका अध्यक्ष पुस्कर जोशी, अखिल (छैठौ) का अध्यक्ष जनक आर्चाय, रा.प्र.वि संघका प्रवक्ता प्रतिक जोशी र समाजवादी विद्यार्थी यूनियनका प्रतिनिधि निलम चौधरीले संयुक्त रुपमा विद्युत प्राधिकरण वितरण केन्द्र धनगढीमा पाँच बुँदे माग सहितको ज्ञापन पत्र बुझाएका हुन्।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन र निषेधाज्ञाका कारण ६ महिनादेखि पठन पाठन बन्द भएकोमा अहिले वैकल्पिक शिक्षण विधि, अनलाइन कक्षा सञ्चालन गरिएपनि विद्युत कटौतीले समस्या भएकाले प्राधिकरणको ध्यानाकर्षण गराईएको हो।

अघोषित रुपमा भईरहेको विद्युत कटौतीलाई रोक्दै शिक्षण सिकाईमा सहयोग गर्न माग गरिएको छ। यस्तै अव्यवस्थीत विद्युत तार तथा पोलहरुको व्यवस्थापन गर्न, कार्यालयमा हुने भ्रष्टाचार अन्त्य गर्न, भाडामा बस्नेहरुबाट चर्काे महसुल असुलेको बारेमा अनुगमन गर्न, कम्पनीका लागि मात्र राखिएका ट्रान्सफर्मर आवश्यक ठाउँमा स्थानान्तरण गर्न, मर्मतको नाममा सेवाग्राहीबाट लिइने शुल्क खारेज गर्न पनि माग गरिएको छ।

ज्ञापन पत्र बुझ्दै विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका निमित्त प्रमुख राकेश शाहले विद्युत कटौतीको कुनै तालिका नभएको प्रतिकृया दिएका छन्। उनले मर्मत सम्भारका बेला विद्युत कटौती गरिदै आएको समेत जानकारी दिए।