सधैं कक्षामा प्रथम हुने परिक्षित पन्तले लकडाउनका ६ महिनामा पछिल्लो कक्षामा पढेको धेरैजसो पाठ बिर्सिएका छन् । कक्षा ४ मा पढ्ने उनी कोरोना महामारीका कारण लकडाउन सुरु भएयता घरै थिए ।
लकडाउन हटेपछि उनी एक दिन विद्यालय गए । उनलाई शिक्षकले तीन महिनाका लागि होमवर्क दिए । उनले कुनै पनि विषयको पूरा गर्न सकेनन् । ‘पढेको सबै बिर्सेछ,’ परिक्षितकी आमा निर्मलाले भनिन्, ‘दैनिकजसो दुई घण्टा घरमा पढाउॅंदा पनि पहिले जस्तो हुन सकेको छैन ।’
डडेलधुराको भागेश्वर–४ को भुवनेश्वरी प्राविमा पढ्ने परिक्षितमात्रै होइन लकडाउनपछि विद्यालय जान नपाएका प्राथमिक तहका अधिकांश बालबालिकाको अवस्था उस्तै छ । गत चैत ११ देखि बन्द भएका विद्यालय अहिलेसम्म खुल्न सकेका छैनन् । केही विद्यालयका माध्यमिक तहका विद्यार्थी अनलाइनलगायत वैकल्पिक कक्षामा सहभागी भए पनि प्राथमिक तहकाले भने विगतमा पढेकै कुरा पनि बिर्सिएका छन् । सन्तानको पढ्ने बानी छुट्न थालकोप्रति अभिभावकहरू चिन्तित छन् ।
विद्यालय बन्दपछि अजयमेरु–४ का प्राथमिक तहका अधिकांश विद्यार्थी बाख्रा गोठालो छन् । ‘बिहानै उठेर झोला बोकेर स्कुल जाने बालबालिका बाख्रा चराउन गएको देख्दा दुःख लाग्छ,’ पूर्व शिक्षक अमर भाटले भने, ‘ठूलो कक्षाका विद्यार्थी जान्ने बुझ्ने हुन्छन् तर प्राथमिक तहलाई भने केही थाहा हुँदैन ।’ सानो कक्षाका विद्यार्थीले कखरासमेत बिर्सिएको पनि पूर्व शिक्षक भाटले दुखेसो गरे । ‘कुनै पनि निकायले यस विषयमा ध्यान दिन सकेका छैनन्,’ उनले भने ‘शैक्षिक सत्रका ५ महिना बितिसके, पढाई र विद्यालय खुल्ने सुरसार देखिदैन ।’
सरस्वती मावि बगरकोटका प्रधानाध्यापक केशव पन्तले पनि बिद्यालय बन्द भएपछि विभिन्न माध्यमबाट प्राथमिक तहका विद्यार्थीलाई पढाईसँग जोड्ने प्रयास असफल भएको बताए । उनले भने, ‘माथिल्लो कक्षाभन्दा प्राथमिक तहका बालबालिकाको अवस्था चिन्ताजनक भएको छ ।’
घरभन्दा विद्यालयमा निर्भर रहने सामाजिक अवस्थाका कारण पनि प्राथमिक तहका बालबालिकाले लकडाउनका कारण ठूलो क्षति व्यहोरेका छन् । ‘शैक्षिक सत्र सुरु भएको ५ महिना बिते पनि यस विषयमा निर्णय हुन नसक्नु दुर्भाग्यपूर्ण हो,’ उनले भने ।
डडेलधुरा जिल्लाका केही स्थानीय तहले पहिलो पटक लकडाउन खुलेपछि विद्यालय खोल्ने प्रयास गरे पनि सम्भव हुन सकेको छैन । अजयमेरु गाउँपालिकाले एक साता अघिदेखि बिद्यालय खोल्न गरेको निर्णय पुन फिर्ता लिनुपरेको छ । वैकल्पिक सिकाइ कक्षाका माध्यममले अहिले उक्त गाउँपालिकाले पढाई सुरु गरेको छ । यसबाहेक स्थानीय तहले कुनै पनि तहका विद्यालयलाई वैकल्पिक रुपमा अध्ययन गराउन समेत सकेका छैनन् ।
निजी विद्यालयले पनि पढाइ संचालन गर्न सकेका छैनन् । कोरोना महामारीले कम प्रभावित क्षेत्रमा पनि बिद्यालय खुलेका छैनन् । ‘सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामध्ये सवैभन्दा कम प्रभावित डडेलधुरा हो,’ स्थानीय एक शिक्षक वीरभान शाहीले भने, ‘आवश्यक मापदण्ड तोकेर कोरोना प्रभावित नभएका स्थानीय तहमा विद्यालय खोल्नुपर्ने सुझाव शिक्षक संघरसंगठनले दिए पनि अहिलेसम्म सरोकारवालाले कुनै चासो राखेका छैनन् ।’
मापदण्ड बनाएर विद्यालय खोल्न सक्ने कानुनी व्यवस्था भए पनि स्थानीय तहले पनि विद्यालय खोल्ने निर्णय गर्न नसकेको उनले बताए । बालबालिका मात्र होइन ग्रामीण क्षेत्रमा अभिभावक पनि बालबालिकाको अध्ययनप्रति उदासिन हुन थालेको देखिएको छ ।
डडेलधुरामा १ सय ९३ आधारभूत र ५८ माध्यामिक विद्यालय गरी २ सय ५१ सामुदायिक विद्यालय छन् । ४३ वटा निजी क्षेत्रका विद्यालय छन् । सबै विद्यालयमा १६ हजार बढी विद्यार्थी छन् ।