पश्चिमी सीमा नाका गड्डाचौकी र गौरीफन्टा नाकाबाट स्वदेश फर्किने र भारत पस्ने क्रम जारी छ। विगत वर्षहरुमा यो समयमा सीमानाकामा दशैं मनाउन घर आउनेहरुको लर्को देख्न पाइन्थ्यो भने यो बर्ष दशैँ मनाउनका लागि स्वदेश फर्किने र मजदुरीका लागि भारत पस्नेको संख्या लगभग बराबर नै छ।
असोज दोस्रो सातासम्म भारत जानेको संख्या बढि रहेकोमा पछिल्लो केही दिनयता भारतबाट स्वदेश फर्किनेको संख्या बढि रहेको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार बुधवार गड्डाचौकी नाका भएर दुई सय ९२ जना भारतबाट फर्किएका छन् भने एक सय ११ जना भारत गएका छन्।
सोही दिन गौरीफन्टा नाकाबाट एक हजार ४६ जना स्वदेश फर्किएका छन् भने सात सय ६६ जना भारत गएका छन्। अहिले भारत जाँदा रासन कार्ड, आधार कार्ड, कम्पनीले बोलाएको आधिकारीक पत्र भएका व्यक्ति र बिरामीलाई मात्र जान दिएपछि भारत जानेको संख्यामा कमि आएको हो।