कैलालीका १९ सहित थप २४ जनामा कोरोना पुष्टि
2020/10/08, 2:22
 
corona

धनगढीका १२ सहित कैलाली र कञ्चनपुरका थप २४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय १३ जनाको कोरोना परीक्षण भएकोमा धनगढीका १२ सहित थप २४ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले आज धनगढी उप–महानगरपालिकाका १२ जना, गोदावरी नगरपालिकाका ६ जना र गौरीगंगा नगरपालिकाका एक जना गरी कैलालीका १९ र कञ्चनपुरका पाँच जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

उनका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ४ जना, वडा नम्बर १ का ३ जना, वडा नम्बर ३ र ९ का २÷२ जना, वडा नम्बर २ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सँगै धनगढीमा कोरोना संक्रमितको संख्या ८ सय ६४ पुगेको छ।

यस्तै गोदावरी नगरपालिकाका ६ जना र गौरीगंगा नगरपालिका वडा नम्बर २ का एक जनामा संक्रमण देखिएको छ भने कञ्चनपुरको वेदकोट नगरपालिकाका चार जना र महाकाली नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको उनले बताए।