निर्माणाधिन गेटा मेडिकल कलेजको माग गर्दै चक्काजाम सहित प्रदर्शन
2020/10/08, 7:46
 
corona

कैलालीको गेटामा निर्माणाधिन गेटा मेडिकल कलेज चाडो भन्दा चाडो सञ्चालनमा ल्याउनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ । नेवि संघले मेडिकल कलेज सञ्चालनको माग राख्दै बिहीबार धनगढी–अत्तरिया सडक अन्र्तगत गेटामा विरोध स्वरोप आधा घण्टा चक्का जाम गरेका थियो ।

नेविसंघ गोदावरीको आयोजनामा विरोध कार्यक्रम भएको हो । विरोध कार्यक्रमको नेविसंघका नेता जगतराम महरा, देवराज ओझाको नेतृत्वमा भएको हो । विरोध सभालाई तरण दलका नेता शंकर खड्का, नेविसंघका नेता पदमराज ओझा, शंकरदेव क्याम्पस काठमाण्डौँका नेविसंघका नेता दिपकराज ओझा, मेडिकल कलेज स्थापनार्थ दवाव समुहका संयोजक एवं नेपाली काँग्रेसका नेता धर्मराज भट्ट लगायतले सम्बोधन गरेका थिए ।

नारा, जुलुस सहित निकालेको विरोध र्यालीमा स्थानीयहरुको सहभागिता पनि रहेको थियो । मेडिकल कलेज स्थापनाको प्रक्रिया अघि बढेको ११ वर्ष बितिसक्दा पनि अध्यापनको अझै टुङ्गो नभएपछि आन्दोलनमा उत्रिएको जनाइएको छ । नेविसंघका नेता पदमराज ओझाले भने –‘मेडिकल कलेजले यस वर्षदेखिनै अध्यापनको काम अघि बढाउने भनेको थियो तर, अहिले भवन को सम्पूर्ण तयारी पनि भएको छैन र अध्यापनका लागि आवश्यक बजेट पनि विनियोजन गरिएको छैन ।

त्यसैले अहिले विरोधमा उत्रेका हौं ।’ कार्यकारी निर्देशक भीमबहादुर साउँदले यो वर्ष अस्पताल पनि सञ्चालन गर्न नसकिने बताए । शैक्षिक कार्यक्रम सञ्चालनमा ढिलो भए पनि अस्पताल सञ्चालनका लागि समितिले सरकारसँग बजेट माग गरेको थियो । तर, सरकारले पर्याप्त बजेट दिएको छैन । ‘यही वर्षबाट अस्पताल सञ्चालन गर्ने भनेर १० करोड बजेट प्रस्ताव गरेका थियौँ ।

तर, साढे चार करोड मात्रै आएको छ,’ कार्यकारी निर्देशक साउदले भने, ‘सम्पूर्ण अस्पताल भवन पनि निर्धारित अवधिमा तयार भएन, अब यही वर्ष अस्पताल सुरु गर्न गाह्रो हुन्छ ।’ उनले केही भौतिक पूर्वाधार समयमा निर्माण नभएपछि समयावधि थप गरिएको उनले बताए । कलेजका पूर्वाधारको समग्र प्रगति करिब ७५ प्रतिशत सम्पन्न भइसकेको उनले बताए । केही भवनको ‘फिनिसिङ’को काम भइरहेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्ममा संरचना तयार हुने उनले बताए ।