बैतडीमा गाउँपालिका अध्यक्ष विरुद्ध गाली बेइज्जती मुद्दा
2020/10/10, 6:53
 
rajniti

बैतडीमा गाउँपालिकाका अध्यक्ष विरुद्ध गाली बेइज्जती मुद्दा दायर भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द विरुद्ध सूचनाको हक प्रयोग गरी सूचना माग गर्दा गाली बेइज्जती गरेको भन्दै अदालतमा मुद्दा दायर भएको हो।

‘अध्यक्ष चन्दले गाली बेइज्जती गरेको भन्दै नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका मन्त्री रमेशसिंह भण्डारीले फिराद पत्र दायर गर्नुभएको छ।’ जिल्ला अदालत बैतडीका श्रेष्तेदार जनकसिंह बोहराले भने, ‘उहाँले दिनुभएको फिरादपत्र दर्ता भईसकेको छ। अब प्रक्रियामा जान्छ।’

अदालतले अब अध्यक्ष चन्दलाई म्याद बुझाउने भएको छ। उनले म्याद बुझेको   पहिलो २१ दिन र नभएमा थपिएको १५ समेत गरी ३६ दिन भित्र अदालतमा उपस्थित हुनुपर्नेछ।

गाउँपालिका अध्यक्ष चन्दले सूचना माग गर्दा गाली बेइज्जती गर्दै आफ्नो आत्म सम्मानमाथि ठेस पुगाएको भन्दै मुद्दा दायर गरेको भण्डारीले बताएका छन्।

भण्डारीले रेडक्रसको मन्त्री पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै अध्यक्ष चन्दले उनी विरुद्ध जिल्ला प्रशासन कार्यालयमा यसअघि निवेदन समेत दिएका थिए।