कैलालीको चिसापानी–अत्तरियासम्मको सडकखण्ड मर्मत गरिँदै
2020/10/10, 4:51
 
Sadak

कैलालीको चिसापानी–अत्तरियासम्मको सडकखण्ड मर्मत कार्य अघि बढेको छ। 

पूर्व–पश्चिम राजमार्गको चिसापानीदेखि अत्तरियासम्मको ७९ किलोमिटर सडकखण्ड ठाउँठाउँमा भत्किएर जीर्ण बन्दै गएपछि सो सडकखण्डको मर्मत कार्य अघि बढेको हो। सडक डिभिजन कार्यालय महेन्द्रनगरले सो सडक मर्मत कार्य तीन चरणमा गरिरहेको जनाएको छ। बहुवर्षीय ठेक्काअन्तर्गत सो सडक मर्मत कार्य भइरहेको कार्यालयका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले बताए। 

सो सडक मर्मतको समयावधि चैत मसान्तसम्म रहेको छ। चिसापानी–अत्तरियासम्मको सडक मर्मतका लागि रु १७ करोड बजेट विनियोजन गरिएको जोशीले बताए। चिसापानीदेखि अत्तरियासम्म ठाउँठाउँमा कालोपत्र फुटेर बनेका ठूलठूला खाडलको मर्मत कार्य भइरहेको छ। तत्कालीन समयमा १० टनसम्मका सवारी साधनलाई लक्ष्य गर्दै निर्माण गरिएको राजमार्गको सो सडकखण्डमा पछिल्ला वर्षमा १८ देखि २० टनसम्मका मालबाहक गाडी गुड्छन्। 

क्षमताभन्दा बढी भार थेग्न नसकेका कारण सडक जीर्ण बन्दै गएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी जोशीको भनाइ छ। हरेक चार÷पाँच वर्षमा रिसोलिङ गर्नुपर्ने सडक पछिल्लोपटक भने रिसोलिङ नगरिएका कारण पनि सडक बिग्रिएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार बजेट समयमै नआएका कारण पछिल्लो समयमा रिसोलिङ नगरिएको हो।

नियमित सडक मर्मत गर्न विसं २०७५ फागुनमा सडक डिभिजन कार्यालय महेन्द्रनगरले तीन वर्षका लागि कालिका जोशी जेभीलाई ठेक्का दिएको थियो। गत चैत पहिलो साता केही स्थानमा मर्मतको काम भए पनि बन्दाबन्दी शुरु भएपछि रोकिएको निर्माण काम अघि बढेको कम्पनीका सञ्चालक गणेश जोशीले बताए।