सुदूरपश्चिममा १० आईसियु र भेन्टिलेटर मध्ये ८ शैया संक्रमितले भरिए
2020/10/15, 10:16
 
corona

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांक अनुसार तत्काल प्रदेशमा १८ शैयाको सघन उपचार कक्ष आईसियु र १५ वटा भेन्टिलेटरको उपलब्धता छ। सेती प्रादेशिक अस्पतालमा १० वटा भेन्टिलेटर सहित १० शैयाको आईसियु र महाकाली अस्पतालमा तीन वटा भेन्टिलेटर सहित ८ शैयाको आईसियु र डडेल्धुरा अस्पतालमा दुई वटा भेन्टिलेटर सेवा सञ्चालनमा छ।

तीन वटै अस्पतालमा १५ भेन्टिलेटर सहित १८ शैयाको आईसियु सेवा उपलब्ध भएपनि प्रदेशमा कोरोना संक्रमितका लागि भनेर छुट्याएको संख्या भने अझै कम छ। तत्काललाई कोभिड अस्थायी अस्पताल पनि स्थापना गरिएको सेतीमा मात्र संक्रमितका लागि पाँच वटा भेन्टिलेटर सहित पाँच शैयाको आईसियु छुट्याईएको छ। ती मध्ये ८ शैया भने संक्रमितले भरिएका छन्।

सेतीको कोभिड अस्थायी अस्पतालमा भर्ना भएका ३६ जना संक्रमित मध्ये ८ को आईसियु र भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीका तीन जना, कञ्चनपुरका चार जना र दार्चुलाका एक जना गरी ८ जनाको आईसियु र भेन्टिलेटरमा राखेर उपचार भईरहेको बताए।

उनका अनुसार पाँच जनाको आईसियु र तीन जनाको भेन्टिलेटरमा उपचार भईरहेको हो। सेती अस्पतालमा १० शैयाको आईसियु र १० वटा भेन्टिलेटरको उपलब्ध भएको उनले बताए। तर कोरोना संक्रमितको उपचारका लागि भने पाँच वटा आईसियु र पाँच वटा भेन्टिर छुट्याईएको छ। पाँच वटा आईसियु र पाँच वटा भेन्टिलेटर अन्य गम्भीर प्रकृतिका बिरामीका लागि छुट्याईएको श्रेष्ठले बताए।

कोभिडका लागि आईसियुका ८ शैया रहेकोमा पाँच जना भर्ना भएपछि अब तत्काल तीन जना गम्भीर संक्रमित र पाँच वटा भेन्टिलेटरमा तीन जनालाई भर्ना गरिएपछि दुई जनालाई मात्र भर्ना गर्न सकिने अवस्था छ। गम्भीर प्रकृतिका संक्रमितको संख्या बृद्धि भए तत्काल पाँच जनाले मात्र आईसियु र भेन्टिलेटर सेवा पाउने देखिएको छ।

स्वास्थ्य निर्देशनालयले महाकाली अस्पतालमा तीन वटा भेन्टिलेटर सहित ८ शैयाको आइसियु सुविधा भनेको छ। तर महाकाली अस्पताल व्वस्थापन समितिका अध्यक्ष केशव जोशीले बुधबार सम्म तीन वटा भेन्टिलेटर सहित आईसियुका ६ शैयामा मात्र रहेको बताए। अहिले कोरोना संक्रमितका लागि भनेर महाकालीले आईसियु र भेन्टिलेटर छुट्टै व्यवस्थापन गर्न नसकेको उनी बताउँछन्।

‘प्रदेश स्वास्थ्य निर्देशनालयले पनि दुई वटा भेन्टिलेटर दिने भनेको छ। संघिय सरकारबाट ४ वटा भेन्टिलेटर सहित १० शैयाको आईसियुका लागि दुई करोड बजेट प्राप्त भएको छ।’ उनले भने, ‘खरिद प्रक्रिया थालिसकेका छौँ। अब खरिद गरिने भेन्टिलेटर र आईसियुबाट कोभिडका लागि छुट्याउँने छौँ।’

पछिल्लो समय प्रदेशको अस्थायी राजधानी सहित घना बस्ती भएका र आवातजावत धेरै हुने स्थानमा कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेको छ। संक्रमणको दर बढेसँगै लक्षण भएको संक्रमितको संख्या समेत बृद्धि हुन थालेको छ। धनगढीमा पनि होम आइसोलेसनमा बसिरहेका संक्रमितहरुमा लक्षण देखिन थालेपछि अस्पताल जाने तथा चिकित्सकीय सल्लाह लिनेका संख्या पनि बढेको उप–महानगरपालिकाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले बताए।

उनले स्वास्थ्य शाखामा समेत लक्षण देखिन थालेको भन्दै फोन गर्ने क्रम बृद्धि भएकाले लक्षण सहितका संक्रमित बढ्न थालेको बताए। तर सुदूरपश्चिममा सेती अस्पताल र महाकाली अस्पतालमा अन्य विरामीका लागि छुट्याएका समेत गरी १८ आईसियु र १५ वटा भेन्टिलेटर छन्।

भयावह स्थिती सिर्जना भए ३३ जनाको मात्रै उपचार गर्न सकिने अवस्थामा थप आईसियु र भेन्टिलेटर विस्तारको काम अलपत्र छ। प्रदेशमा संक्रमण फैलिएको झण्डै सात महिनापछि २० वटा भेन्टिलेटर खरिद गरेको प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले अझै वितरण गर्न सकेको छैन् भने उपकरण पाईसकेका अस्पतालले जडानमा ढिलाई गरिरहेका छन्।

सामाजिक विकास मल्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले २० वटा भेन्टिलेटर वितरण भईरहेको बताउँदै सम्बन्धीत अस्पतालले नै जडान गरी सञ्चालन गर्ने बताए। उपकरण थप भएपनि जनशक्ति अभाव अर्को समस्याका रुपमा देखिएको छ।

कार्कीले जनशक्ति व्यवस्थापनका लागि समेत पहल भईरहेको बताए। कञ्चनपुरको महाकाली अस्पताल, कैलालीको टीकापुर अस्पताल र डडेल्धुरा अस्पतालले आईसियु र भेन्टिलेटर खरिदका लागि संघिय सरकारले ७ करोड बजेट दिएको छ। तर अस्पतालहरुले खरिद प्रक्रिया थाल्नमै ढिलाई गरेका छन् भने कोरोना संक्रमण तिव्र भएको छ।