कैलालीको त्रिनगर भन्सार नाका २३ दिनदेखि ठप्प
2023/09/05, 1:56
 
ss

कैलालीको त्रिनगर भन्सार नाकाबाट २३ दिनदेखि भारतबाट खाद्यान्न, तरकारी र फलफूलको आयात ठप्प भएको छ। भन्सार कार्यालय कैलालीका अनुसार टुरमुकामस्थित प्लान्ट क्वारेन्टाइन कार्यालयले कर्मचारी अभावले विषादी परीक्षण नगरेपछि भारतबाट खाद्यान्न, तरकारी र फलफुल नेपालमा आयात नहुँदा सिमापारी नै थन्किएका हुन्।

सुदूरपश्चिमको एकमात्रै सामान आयात हुने नाकामा परीक्षण रोकिएपछि व्यवसायीका गाडीहरू भन्सार पारी नै रोकिएका छन् । त्रिनगर नाकाको प्लान्ट क्वारेन्टिन कार्यालयमा कार्यरत बाली संरक्षण अधिकृत प्रमोद ठगुन्ना अध्ययन बिदामा बसेपछि साउन २८ गतेदेखि त्रिनगर नाकाबाट नेपाल आयात हुने खाद्यान्न, तरकारी र फलफूलमा विषादी, किराजन्य संक्रमण परिक्षण बन्द भएको छ । खाद्य प्रविधि र प्लान्ट क्वारेन्टिनले जाँच गरेपछि मात्रै खाद्यान्न, तरकारी र फलफूलजन्य वस्तु नेपालमा प्रवेश गराउने गरिएको छ।

कार्यालय कुर्नका लागी एक जना कार्यालय सहयोगी मात्रै छन् । प्लान्ट क्वारेन्टिनको मुख्य कार्यालय कञ्चनपुरको गड्डाचौकी नाकामा रहेपनी भारतले शारदा नदीको पुलमा बढी भार भएका मालबाहक साधन आयात गर्न प्रतिबन्ध लगाएको छ। जस कारण खाद्यान्न, तरकारी र फलफूलमा विषादी, किराजन्य संक्रमण परिक्षण बन्द भएपछि आयात नहुँदा ब्यवसायी मारमा परेका छन्। कुखुराको दाना उत्पादन हुने उद्योगहरूमा कच्चा पदार्थको अभाव हुन थालेपछि पोल्ट्री उद्योग नै बन्द हुने अवस्थामा पुगेको पोल्ट्री व्यवसायी विवेक भट्टले बताए।

उनले नेपालगन्जको रुपैडिया नाका भएर आयात गर्दा भाडादर दोब्बर भाडा लाग्ने र तत्काल आयात सुचारु नगरीए उद्योग बन्द भई कुखुरा मर्ने अवस्थामा आउने बताए। एक जना कर्मचारी नभएकै कारण आयात ठप्प पारिनु नहुने पोल्ट्री व्यवसायी भट्टको भनाई छ । सुदूरपश्चिम प्रदेशको बजारको मागको झण्डै ४५ प्रतिशत यहाँका उद्योग तथा कलकारखानाले धानिरहेको बताउँदै उनले त्यसलाई विस्थापित गर्न खोजिएकोे आशंका ब्यक्त गरे। उनले भने, ‘चार वर्षअघि पशु क्वारेन्टाइनले पनि २१ दिनसम्म नाकामा मालबाहक सवारीसाधन रोकेको थियो।

सुदूरपश्चिममा व्यवसायीकरण हुन थालेको छ। मागको करीब ४५ प्रतिशत यतैका उद्योग, कलकारखानाले धान्न थालेपछि चिढिएका ठूला व्यापारीको स्वार्थमा प्लान्ट क्वारेन्टाइनले परीक्षण रोकेको हुनसक्छ’, भट्टले भने। कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले तत्काल क्वारेन्टिन कार्यालय सञ्चालन नगरे व्यावसायीहरु आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए। उनले पूर्ववत रुपमै क्वारेन्टाइन सेवा सञ्चालन गर्नुपर्ने माग गर्दै कृषि मन्त्री, नेपाल सरकारका मुख्य सचिव, कृषि सचिव लगायतकाको ध्यानाकर्षण गराएपनि वेवास्ता गरिएको बताए।

प्रदेशदेखि संघीय सरकारलाई पटक–पटक यसबारे लिखित जानकारी गराइपनी अहिलेसम्म कुनै सुनुवाइ नभएकाले ब्यवसायी आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। कैलाली भन्सार कार्यालयका प्रमुख राजेन्द्र हमालले प्लान्ट क्वारेन्टाइनले परीक्षण नगर्नुको कारण भने थाहा नभएको प्रतिक्रिया दिए । प्रमुख भन्सार अधिकृत हमालले खाद्यान्न, तरकारी र फलफूलको आयात रोकिएमा प्रति महिना २० देखि २५ करोडको राजश्व संकलनमा गिरावट आउने बताए । प्लान्ट क्वारेन्टाइन महेन्द्रनगरका प्रमुख श्यामलाल शाहीले मुख्य कार्यालयबाट परीक्षण गर्ने केन्द्रीय निर्देशनअनुसार त्रिनगर भन्सारमा गुणस्तर तथा विषादी परीक्षण गर्न नसकिएको बताएका छन् ।