तीन तहका सरकार हुँदा पनि जनताका दुःख उस्तै !
2020/10/19, 10:01
 
majdur

मुलुकमा संघीयता कार्यान्वयनसँगै तीन तहका सरकार अस्तित्वमा आए पनि सामान्य नागरिकले शासकीय स्वरुप परिवर्तनका बाबजुद आफ्नो जीवनमा तात्विक भिन्नता नभएको टिप्पणी गरेका छन् । स्थानीय तह, प्रदेश र संघीय सरकार गरी देशमा तीन तहका सरकार अस्तित्वमा छन् । संघीयतालाई जनताको मुहारमा खुशी ल्याउने बुटीसरह प्रचार गरिए पनि जनताले सार्थक परिवर्तनको अनुभूति गर्न नसकेका हुन् ।

मुलुकमा तीन तहका सरकार गठन भएको झण्डै तीन वर्ष हुँदैछ । नेपालको सन्दर्भमा नयाँ अभ्यास भए पनि तीनै तहका सरकारले समग्रमा झण्डै तीन वर्ष बिताइसकेका छन् । पाँच वर्षका लागि निर्वाचित तीनै तहका सरकारले आधाभन्दा बढी समय बिताइसकेको अवस्थामा ती सरकारले जनताको मुहारमा कति प्रशन्नता दिएका छन् त भन्ने प्रश्न असान्दर्भिक होइन । यसबीचमा जनताले कस्तो अनुभव गरे भन्ने विषयले तीनै तहका सरकारलाई जनउत्तरदायी बनाउनका साथै बाँकी कार्यकालका निम्ति मार्गदर्शन गर्न सक्छ ।

राजनीतिक रुपमा नखुलेका, मेहनत–मजदुरी गरेर गुजारा चलाउँदै आएका सामान्य नागरिकले संघीयता र तीन तहका सरकारलाई कसरी बुझेका छन् भन्नेबारे गरिएको कुराकानीमा अधिकांशले आफ्नो जीवनशैलीमा तीनै तहका सरकारले कुनै परिवर्तनको प्रत्याभूति नदिलाएको बताएका छन । केहीले त खुलेरै भने– जुनसूकै व्यवस्था आए पनि नेताहरु र उनीहरुका निकट रहनेका लागि मात्र हो, जनतालाई त जस्ताको तस्तै नै हो ।

सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका–५, तारानगर निवासी गोविन्द मल्ल व्यापार गर्छन् । अहिले तीन तहका सरकार भए पनि गरिखाने वर्गका लागि केही गरेको छ भन्ने अनुभूति आफूलाई नभएको बताउँछन् । ‘बाटोघाटोको अवस्था उस्तै छ । बेरोजगारीको समस्या पनि उस्तै छ,’ उनले भने, ‘हामीजस्ता मजदुरका लागि के खाने र कसरी जीविकोपार्जन गर्ने भन्ने चिन्ता उस्तै छ । म आफै पनि अपाङ्गता भएको व्यक्ति हुँ । हामीहरुको राहतका लागि सरकारले चार प्रकारका कार्ड बनाइदियो तर केका लागि बनायो भन्ने मैले बुझ्न सकेको छैन, राहत अहिलेसम्म पाइएको छैन ।’

2

सरकारमा गएकाहरुले आफ्नालाई ठगी र लफडा गर्नमात्र सिकाएको उनको अनुभव छ । अन्न उब्जाउने खास किसानलाई राहतको महसुस नै नभएको उनले बताए । ‘बिचौलियालाई मात्र राहत बाँड्ने काम भएको छ,’ उनले भने, ‘कागज बनाएर, फोटो देखाएर बिचौलियाहरुले राहत लग्ने गरेका छन् । योभन्दा अरु केही पनि भएको छैन ।’ धनगढी उपमहानगरपालिका–३, विशालनगरका करनकुमार सार्की सडक छेउ बसेर अरुका जुत्ता पालिस गरेर गुजारा चलाउँदै आएका छन् । आफूहरुजस्ता मजदुरले सरकारबाट कुनै प्रकारको राहत महसुस नगरेको उनी बताउँछन् । ‘विकास निर्माणको गति झन् कम हुँदै गएको छ,’ उनले भने, ‘सडक निर्माणका काम अलिअलि भए पनि अन्य केही काम गतिलो भएको छैन । न त बास बस्ने व्यवस्था छ । न त रोजगारी नै ।’ ‘विकास, रोजगारी केही पनि छैन, जे पहिला थियो त्यही नै छ,’ उनले भने, ‘केही फरक छैन । हुनेखानेका लागि होला, हाम्रालागि केही फरक छैन ।’

2

दिनभरी काम गरेर कमाएको पैसाबाट परिवार पाल्न बाहेक अन्य विकल्प केही नभएको उनको गुनासो छ । कहिलेकाहीँ त मेहनत मजदुरी गर्ने वातावरण समेत नपाएर गुजारा चलाउनै सकस हुने गरेको उनी सुनाउँछन् । धनगढी उपमहानगरपालिका–११, बेलाका रामप्रसाद राना ठेला चलाएर जीविकोपार्जन गर्दै आएका छन् । उनी प्रश्न गर्छन्, ‘कामगरी खाने वर्गका लागि तीन तहका सरकारले के गरेको छ र ?’ आफूले दिनभरी ठेला चलाएर बेलुका परिवारका लागि खाद्यान्न किनेर लग्ने गरेको उनको भनाइ छ । ‘विकास, रोजगारी केही पनि छैन, जे पहिला थियो त्यही नै छ,’ उनले भने, ‘केही फरक छैन । हुने खानेका लागि होला, हाम्रा लागि केही फरक छैन ।’

1