सुदूरपश्चिममा वर्षेनी बढ्दै बलात्कारका घटना
2020/10/23, 2:50
 
rape

कञ्चनपुरको महेन्द्रनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष बितेको छ । राष्ट्रिय रुपमा ठूलो चर्चाको विषय बनेको यो घटनामा संलग्नको अहिलेसम्म पहिचानसमेत हुन सकेको छैन । निर्मला बलात्कार र हत्यापछि दोषीलाई कारबाहीको मागसँगै बलात्कारका घटना विरुद्ध सुदूरपश्चिमका विभिन्न जिल्लामा आन्दोलनहरु चर्किए । त्यसयता बलात्कारका घटनामा कमी आएको छैन, बरु बलात्कृत हुनेको संख्या वर्षेनी बढ्दै छ ।

 प्रहरीको पछिल्लो तीन वर्षको तथ्यांक हेर्ने हो भने सुदूरपश्चिममा जबरजस्ती करणीका घटना तीन गुणाले बढेका छन् । जबरजस्ती करणीको प्रयासका घटना पनि बढ्दै गएका प्रहरीको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७४/०७५ मा सुदूरपश्चिमका नौ जिल्लामा जबरजस्ती करणीका ९७ वटा घटना प्रहरीमा दर्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/०७७ सम्म यो संख्या एक सय ९९ पुगेको छ ।

२०७४/०७५ मा जबरजस्ती करणीका उद्योगमा ५७ वटा घटना दर्ता भएकोमा आर्थिक वर्ष २०७६/०७७ सम्म यो संख्या बढेर ६५ पुगेको छ । महिला हिंसाको प्रमुख कारण ठानिएको बहुविवाह र बालविवाहका घटना पनि वर्षेनी बढ्दो क्रममा छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरिक्षक मुकेशकुमार सिंह बलात्कारका घटना न्यूनिकरण प्रहरीका लागि चुनौतिको विषय बनेको बताउँछन् । गत तीन आर्थिक वर्षमा सुदूरपश्चिममा महिला र बालबालिका पीडित भएका बलात्कार, बलात्कारको प्रयास, बालविवाह, बहुविवाह, बेचविखन तथा ओसारपोसारका नौ सय ४७ वटा घटना भएका प्रहरी बरिष्ठ उपरिक्षक सिंहले जानकारी दिए ।

यस्ता घटनाहरु सबैभन्दा बढी कैलाली, कञ्चनपुरमा रहेका उनले बताए । जनसंख्याको चाप बढी हुनुले तराइका यी दुई जिल्लामा बलात्कार, बलात्कारको प्रयास, बहुविवाहका घटना बढी देखिएको प्रहरीको भनाइ छ । भारतसँगको खुला सिमानाका कारण महिला र बालबालिका बेचविखन तथा ओसारपोसारका घटना पनि कैलाली, कञ्चनपुरमै बढी देखिएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कैलालीमा मात्रै विगत तीन वर्षको अवधिमा जबरजस्ती करणीका घटना दोब्बरभन्दा बढी बढेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/०७५ मा जबरजस्ती करणीका ४१ घटना प्रहरीमा दर्ता भएका थिए । जबकी चालु आर्थिक वर्षको दुई महिनामै बलात्कारका २७ वटा घटना प्रहरीमा दर्ता भएका छन् । सो अवधिमा जबरजस्ती करणीको प्रयासमा २५ वटा मुद्दा दर्ता भएकोमा चालु आर्थिक वर्षको तीन महिनामै १० वटा मुद्दा दर्ता भएका जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ ।

महिला अधिकारकर्मी बसन्ती चौधरी दोषीलाई कारबाहीको दायरामा ल्याउन नसक्नुले पनि बलात्कारका घटनाले प्रश्रय पाइरहेको बताउँछिन् । कतिपय ठाउँमा जनप्रतिनिधिनै बलात्कारका घटना गाउँमै मिलाउने गरेको पाइएकोले यसले बलात्कारमा संलग्नको आत्मबल बढेको चौधरीको भनाइ छ । कानुन कार्यान्वयनको पक्ष पनि फितलो रहेको उनले बताइन् ।

‘पहिलो कुरा त घेरैजसो घटनामा दोषीलाई कारबाही हुँदैन । जनप्रतिनिधि पनि बलात्कारका घटना गाउँमै मिलाउने गरेका कुराहरु सार्वजनिक हुँदै आएका छन् ।’ उनी भन्छिन्, ‘बलात्कारमा संलग्नमात्र होइन, बलात्कारका घटना मिलापत्र गराउनेलाई पनि कारबाहीको दायरामा ल्याएर हदैसम्मको सजाय गर्नसके बलात्कारका घटनामा कमी आउँछ ।’ बलात्कारमा संलग्न पहुँचवाला भए उम्किने गरेको अधिकारकर्मी बताउँछन् । पहुँचवाला जोडिएको घटनामा प्रहरी अनुसन्धान पनि पीडकको पक्षमा देखिन गरेको उनीहरुको भनाइ छ ।

अधिवक्ता गम्भीरसिंह ऐर घरपरिवार र नातागोताभित्रै हुने बलात्कारका घटना अझै न्यून रुपमा बाहिर आउने गरेका बताउँछन् । सामाजिक, पारिवारिक इज्जतको डरले परिवारभित्रै हुने घटनाहरु बाहिर आउन नसकेको उनको भनाइ छ । बलात्कारका घटनाको संख्या बढ्नुमा भने कानुनले अधिकार दिएपछि घटनाहरु बाहिर ल्याउने प्रवृति बढ्नु कारणका रुपमा रहेको अधिवक्ता ऐरले बताए ।

‘पहिले बलात्कारका घटना गाउँमै मिलाउने परिपाटी थियो । अहिले कानुनले महिलालाई अधिकार दिएपछि अन्याय विरुद्ध अदालत जानुपर्छ भन्ने बुझाइ बढेको छ ।’ उनले भने, ‘अर्कोतर्फ प्रविधिको दुरुपयोगजस्ता कारणले बलात्कारका घटना पनि बढेको देखिन्छ ।’ बलात्कार सम्बन्धी महिलामैत्री कानुनले कतिपय अवस्थामा निर्दोषहरु फस्ने अवस्था रहेको ऐरले बताए । ‘सहमतिमा सम्बन्ध हुन्छ । विमती भए र इबी साँध्नका लागि पनि अधिकारको दुरुपयोग गरेर फसाउने प्रवृति देखिन्छ । यस्तो अवस्थामा निर्दोष व्यक्ति फस्न सक्छ ।’

 बलात्कारका घटना न्यूनिकरणमा कानुनी डरधाकले मात्र नहुने भएकाले चेतनाको विकास गर्न आवश्यक रहेको अविक्ता ऐरको भनाइ छ । नैतिक शिक्षाको अभावले समाजमा अराजकता बढेको उनले बताए । प्रविधिको दुरुपयोगलाई पनि रोक्नुपर्ने ऐरले बताए । ‘कानूनी डरधाकले मात्र बलात्कारका घटनामा कमी आएन । सामाजिक रुपमा सचेत गराउनु पर्छ । चेतनाको कमीले पनि हो ।’ उनले भने, ‘चेतनाको विकाससँगै नैतिक शिक्षामा जोड दिइनु पर्छ ।’ बलात्कारका घटनामा संलग्नलाई उन्मुक्ति दिन नहुने उनले बताए ।

प्रहरी बरिष्ठ उपरिक्षक सिंह बलात्कारका घटना लुकाउने प्रवृतिमा कमी आएकोले संख्यात्मक रुपमा बढेको बताउँछन् । ‘अपराध पनि बढेको हो । अर्को कारण बलात्कारका मुद्दा प्रहरीमा आउनुले पनि संख्या बढ्दै गएको हो ।’ उनले भने, ‘विगतमा मेलमिलाप गराउने अवस्था थियो, अहिले छैन ।’ प्रहरीकहाँ आएका घटनामध्ये करिब ९९ प्रतिशत कारबाहीको दायरामा आएका उनको दावी छ । बलात्कारका घटनालाई गम्भीरतापूर्वक लिएर प्रहरीले अनुसन्धान गर्ने गरेको प्रहरी बरिष्ठ उपरिक्षक सिंहले दावी गरे ।