कोरोना कहरः थारु वस्तीमा बजेन मादल र मन्जिरा
2020/10/24, 12:33
 
natch

कला, संस्कृति, नाचगानमा धनी मानिन्छ, थारु समुदाय। आफैले सिर्जना गरेको गीतबाँस र नाचगानमा रमाउने समुदाय हो थारु।  अन्य वर्ष दसैं, तिहार नजिकीयसँगै थारु वस्तीमा छुट्टै रौनक हुन्थ्यो। मादल घन्क्थ्यिो। मन्जिराको छुनछुन आवाजले थारु वस्ती नै चैनार (रमझम) हुन्थ्यो। 

कृष्णजन्माष्टमीदेखि सुरु हुने सखिया नाचले दसैं आउँन थालेको संकेत दिन्थ्यो। तर, यो वर्ष कोरोना कहरले गाउँवस्तीमा मादल र मन्जिराको सुमधुर आवाज गुञ्जन सकेको छैन। अघिल्ला वर्षहरुमा गुञ्जायमान हुने थारु वस्ती यो वर्ष  सुनसान छन्।  कैलालीको कैलारी गाउँपालिका–३, उत्तरभर्रीमा गत वर्ष जेउँरा (जमरा) राखेको दिनदेखि समरौटी गाएर ट्रासन ठोकेका (नाँचको सुभारम्भ गरेका) थिए। तर, यो वर्ष कोरोना कहरले थारु कला संस्कृतिमा समेत प्रभाव पारेको छ। 

गाउँको बर्का (ठूलो) गुरुवा र केसौका मार्फत कूल देउथान कालिमाईमा देवीदेवताको पूूजा आराधनासहित ट्रासन ठोकेपछि मात्रै सखिया नाँच्न नाच्न पाउने रितीरिवाज रहेको छ। गाउँका भलमन्सा छोटेलाल चौधरीले भने, ‘यो वर्ष सम्भव भएन। कोरोनाको डर भयो।’
थारु समुदायमा हरेक काम सुरु गर्दा निश्चित विधि, पद्धति पुरा गर्नुपपर्ने भलमन्सा छोटेलाल चौधरीले वताउँछन्। भने, ‘थारु समुदायमा सखिया नाँच्नुपूर्व होस् या मुङ्ग्रहुवा, बडका नाच लगायतको सांस्कृतिक कार्यक्रम गर्ने क्रममा होस्, समरौटी गाउने र ट्रासन ठोक्ने गरिन्छ।’

विश्वभरि नै कोरोना कहर भएको बताउँदै चौधरीले भने, ‘यो वर्ष दसैंको विशेष दिनमा सखिया नाच्ने कि भन्ने सल्लाह भएको छ।’ उत्तरभरी गाउँमा सखिया र झुम्रा नाँच पुस्तौँदेखि निरन्तर नाचिदै आइएको छ। चौधरीले भने, ‘विश्वमा कोरोना कहरका कारण यो वर्ष नाँच्न पाईएको छैन।’ दसंैको आगमनमा मन्जिरा र मादलको अवाज कैलालीको उत्तरभर्री गाउँमा मात्रै होईन पश्चिम नेपालको प्रायः थारु बस्तीमा कृष्णजन्मष्टिमको विहानदेखि नाँचको अभ्यास हुन्थ्यो। 

1

यो समयमा गाउँ गाउँका नाचकाबीच प्रतस्पिर्धा पनि हुन्थ्यो। दसैंमा गाउँका ठूला बडा, अगुवा, बुद्धिजीवि, राजनेताहरूको घरमा सम्मान स्वरुप नाच लिएर आशिर्वाद लिन जाने चनल थियो। जसको रौनकले पुरै गाउँ नै चैनार (चहलपहल) हुन्थ्यो। कोरोना कहरले यो वर्ष त्यस्तो छैन। कैलालीको भादामा रहेका थारु होमस्टेमा विगत १० वर्षदेखि सखिया, झुम्रा नाँच देखाएर पर्यटकलाई स्वागत गरिँदै आएको छ। तर, यो वर्ष कोरोनाको कारणले होमस्टे पनि सुनसान रहेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले बताए।

‘सखिया दसैंको पूर्वसन्ध्यामा एक महिना आगाडि रातको समयम नाँच्ने गरिन्थ्यो,’ लक्ष्मीनारायण चौधरीले भने, ‘होमस्टेमा आउने पर्यटकहरूको मनोरञ्जनका  लागि सखिया, झुम्रा नाँच देखाउँदै आएका थियौँ, तर यो वर्ष कोरोनाले होमस्टे बन्द छन्, गाउँ सुनसान छ।’ दसैंमा सखिया नाचको लागि मादल बजाउने पुरुष दौना (एक प्रकारको फूलको पात) को बास्नादार माला, सेतो धोती र कमिज लगाएर सखिया नचाउँछन्। 

मादल भने पुरुषले नै बजाउँछन्। नाचमा सघाउने पनि सबै महिला नै हुन्छन्। थारू समुदायले शिव–पार्वती, कृष्णलगायत आफ्ना अरु देवीदेउतालाई गीतको माध्यमले प्रार्थना गरी शान्ति एवं रक्षाको कामना गर्ने गर्दछन्। १५ देखि २० जनाको समुहमा सखिया नाच्ने युवती फरिया, चोलिया, बुट्टेदार लेहंगा र थारु गरगहनामा सजिएका हुन्छन्।

तराईका थारु बाहुल्य बस्तीमा दसैंभरी मादल नबजेको दिन हुँदैनथियो। खाना खाइसकेपछि उनीहरू हरेक दिन वस्ती अनुसारको नाचगान गरेर मनोरञ्जन गर्नेगर्छन्। नाचगानमा थारु निकै व्यवस्थित समुदाय मानिन्छ। उनीहरु कुन बेला कस्तो नाच्ने भन्नेमा पनि सचेत हुन्छन्। थारु बस्तीमा बाह्रैमास नाचगान भने हुँदैन।

देउताको पूजा गरेर मादल बजाउने वा बन्द गर्ने भन्ने हुन्छ। खास गरी थारु बस्तीमा भदौको दोस्रो सातादेखि कार्तिक महिनासम्म झन्डै दुई महिना निकै मनोरञ्जन गर्ने चलन छ। तर यो वर्ष भने थारु समुदायको यो सांस्कृतिक चलन कारोना संक्रमणका कारण खुम्चिएको खबर भीम चौधरीले नेपाल समयमा लेखेका छन् ।