दाउरा बेचेर दशैं खर्चको जोहो
2020/10/25, 4:54
 
sadak

दैनिकजसो एकाबिहानै झिसमिसेमा दाउराको भारी साइकलमा बोकेर कञ्चनपुरको पुनर्वास नगरपालिका–१० अमरबस्तीबाट धनगढी पुग्छन् १५ वर्षीय विमल विक । कहिलेकाहीँ मात्र होइन, कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी बन्दाबन्दीपछि उनी दैनिकजसो पुनर्वासबाट साइकलमा दाउराको भारी बोकेर धनगढीका होटलमा बेच्न आउने गरेका छन् ।
 
बिहानको ६ बजे सधैजसो साइकलमा दाउरा ल्याएर बेच्ने उनको रहर होइन, बाध्यता हो । ‘घरमा कमाउने कोही छैनन् । बुवा रोजगारीका लागि भारतमा हुनुहुन्छ । उहाँको कमाइले मात्र घर खर्च चलाउन निकै मुस्किल पर्छ,’ उनले भने, ‘त्यसैले मैले दाउरा संकलन गरेर बेच्ने गरेको छु । दाउरा संकलन गर्न आमाले पनि सघाउनुहुन्छ ।’

अनि दाउरा बेच्न थाले ...

गाउँकै स्कूलमा ७ कक्षामा अध्ययन गरिरहेका उनी कोरोना त्रासका कारण विद्यालय बन्द भएपछि फुर्सदिला बने । ‘केही समयपछि अनलाइन कक्षा सञ्चालन हुने जानकारी पाएको भएपनि आफूसँग मोबाइल र इन्टरनेट नहुँदा मैले अनलाइन कक्षा लिन पाइनँ,’ उनले भने, ‘त्यसपछि लामो समय लकडाउन भयो । घरमा भएको अन्नपानी पनि सकियो । केही दिन त छिमेकीबाट मागेर छाक टार्‍यौं तर त्यसरी कति दिन नै चल्थ्यो र ? अनि गाउँको जंगलबाट दाउरा संकलन गरेर बेच्न थालें ।’

भारतमा मजदुरी गर्ने उनका बुवाको जागिर कोरोना संक्रमणपछिको बन्दाबन्दीले खोसियो । ‘बुवा पनि बल्लतल्ल घर पुग्नुभयो,’ उनले भने, ‘घरमा छाक टार्नै मुस्किल परेपछि हामीले दाउरा संकलन गरी बेच्न थालेका हौं ।’

दाउरा संकलन गरेर बेच्न उनलाई त्यति सजिलो छैन । बिहान उठ्ने बित्तिकै दाउराको भारी साइकलमा धनगढी पुर्‍याएर घर गएपछि फेरि भोलिका लागि दाउरा संकलन गर्न उनी आमासँगै जंगल जाने गर्छन् । ४–५ महिनादेखि दैनिकजसो दाउरा बेचिरहेको उनले बताए ।

1

दाउरा बेचेर दशैं खर्च 

अमरबस्तीका विमल विक मात्रै होइन, त्यहाँबाट धेरै व्यक्तिहरू दाउरा बेच्न धनगढी पुग्ने गरेका छन् । कोरोना भाइरसको प्रभावले सबै रोजगारी खोसिएपछि अधिंकाशले दाउरा बेचेरै दशैं खर्च जुटाउन थालेका छन् । ‘होटलमा १ भारी दाउराको २५० रुपैयाँ दिन्छन्,’ विमल भन्छन्, ‘मैले त दाउरा बेचेरै दशैंका लागि नयाँ कपडा किनिसकेको छु । दशैं खर्च २ हजार पनि दाउरा बेचेरै जम्मा गरेको छु ।’

दाउरा बेच्न धनगढी पुगेकी अमरबस्तीकी १७ वर्षीया पुष्पा बोहराले दशैंको खर्चका लागि दाउरा बेचिरहेको बताइन् । ‘यसपालि त नयाँ लुगा पनि किन्ने हो, दाउरा बचेकै रुपैयाँबाट दशैैंमा मासु पनि खाने हो,’ उनले भनिन् ।

अमरबस्तीकै ४६ वर्षीया पार्वती नेपालीले १–१ भारी दाउरा बेचेर रकम जम्मा गरी ७ हजार भएको बताइन् । ‘यसपालि यसै पैसाले दशैं मनाइन्छ । हाम्रो त आम्दानीको स्रोत नै यही हो । दाउरा बेचेरै हाम्रो गुजारा चलिरहेको छ,’ उनले भनिन् ।यो खबरलाई जीवन विष्टले लोकान्तरमा लेखेका छन् ।