दशैं र तिहारको समय सबैभन्दा बढि संवदेनशील मानिन्छ । भीडभाड र मानवीय चहलपहल अत्याधिक हुने दशैं तथा तिहारमा मदिराको सेवनका कारण हुने सवारी दुर्घटना, जुवातास, झगडाका घटना उल्लेख रुपमा हुने गरेका छन् । यो पटक दशैै तथा तिहारको अवसरमा प्रहरीले सुरक्षाको के कस्तो रणनीति र योजना बनाएको छ ? यसै सन्दर्भमा सुदूर पश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक उत्तम सुवेदीसंग गरिएको कुराकानी प्रस्तुत गरेका छौ ।
दशैं कसरी मनाउदै हुनुहुन्छ ?
दशैंमा हुनसक्ने सम्भावित घटना दुर्घटना नियन्त्रण र शान्तिपूर्ण वातावरण बनाउन हामीले कार्तिक २५ गतेदेखि विशेष सुरक्षा योजना लागु गरेका छौ । मेरो दशैंको अधिकांश समय त्यही बिशेष सुरक्षाको अनुुगमन र सफल कार्यान्वयनमा बित्नेछ । केही थप प्रहरीको आवश्यकता परे परिचालनका लागि व्याकअपको तयारी गरेको छु । सुदूरपश्चिमवासीलाई ढुक्कसँग दशैं मनाउने व्यवस्था मिलाएको छु । ढुक्कसँग कोरोनाबाट बचेर दशैं मनाउन पनि म सबैलाई आग्रह गर्दछु ।
त्योसंगै दशैंमा घर जान नपाएका सकल दर्जाका प्रहरीसँग खाना खाने, रमाईलो कुराकानी गर्ने, उनीसंग छलफल गर्ने र प्रोत्साहित गर्ने गरेको छु । त्यस बाहेक सार्वजनिक ओहोदामा रहेका व्यक्ती, विभिन्न संघसंस्थाका पदाधिकारी, सर्वसाधारणलाई टेलिफोन र मेसेज मार्फत शुभकामना साटासाटा गरेर दशैं मनाईरहेको छु ।
तपाई दोहोरो भूमिकामा हुनुहुन्छ । एकातिर परिवार, अर्को तिर प्रहरी संगठन । परिवारसंग रमाईलो गर्ने मन पनि होला ? अर्कोतिर सुदूरपश्चिम प्रहरी प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ दुईटै जिम्मेवारी कसरी निर्वाह गरिरहनु भएको छ ?
विगतमा दशैंको समयमा जहाँ दरवन्दी हुन्थ्यो, त्यही मनाउँथे । घरपरिवारका सदस्यलाई पनि त्यही बोलाउँथे । तर कोरोनाको जोखिमका कारण यो पटक परिवारलाई बोलाएन । श्रीमती, छोरी एकातिर, आमा र भाई अर्कोतिर छन् । यस पटक परिवारबाट एक्लै छु । तर मेरो ठूलो प्रहरी परिवार छ । सुदूरपश्चिम प्रहरी परिवारसंगै दशैं मनाईरहेको छु ।
दशैं भनेपछि रमाईलो गर्ने तडक भडक गर्ने, खानपिन गर्ने, जुवातास खेल्ने, मदिराको सेवन गर्ने, यस्ता विकृतिहरु पनि जोडिएर आउँछन । तपाई यो अम्मलमा फस्नु भएको छ कि छैन ?
म प्रहरी संगठनको जिम्मेवार सदस्य हुँ । यद्दपि म नागरिक पनि हुँ । मेरा पनि व्यक्तिगत ईच्छा चाहना पनि हुन्छन । त्यसोे भन्दै गर्दा, जुवातास त मैले अहिलेसम्म खेलेको छैन । खेल्न पनि आउँदैन । यो मेरो सोख नै भएन । दशैंको समयमा घरपरिवार र साथीभाई रमाईलो गर्ने, माछा मासु खाने, डान्स गर्ने, घुम्न जाने गरेको थियो । एकातिर कोरोनाले यी सबै कुरा सम्भव नै थिएन । अर्कोतिर यतिबेला म अन ड्युटी छु । त्यसैले यो पटक रमाईलो गर्ने भन्दा पनि आफू पनि सुरक्षित रहने अरुलाई सुरक्षित कसरी बनाउने भन्नेमा ध्यान केन्द्रित छ ।
मदिरा सेवन गरी सवारी साधन चलाउने प्रवृतिका कारण दशैंमा दुर्घटनाका घटनाहरुमा वृद्धि हुने गरेका छन् ? दुर्घटना नियन्त्रणका लागि के कस्तो रणनीति बनाउनुभएको छ ?
यही कुरालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीमा २० जना थप गरेका छौ । जहाँ संख्या कम छ, त्यहाँ ट्राफिक प्रहरी थप गरेका छौ । विशेष सुरक्षा योजना अनुसार हाईवे, गल्लीमा सरप्राईज चेक गर्ने गरेका छौ । तिव्र गति र मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको पाईएमा कारबाही गर्ने गरेका छौ । सुदूरपश्चिम भरी ४० स्थानमा हेल्पडेक्स राखेका छौ । तिव्र गतिमा र मापसे गरेर सवार साधन नचलाउन चालकहरुलाई सम्झाउने गरेका छौ ।
दशैं कसरी मनाउन सुझाव दिनुहुन्छ ?
यो पटक दशैं जो जहाँ छ, त्यही मनाऔ । यो पटकको दशैं बिगतको जस्तो छैन । कोरोना संक्रमणको जोखिम उच्च भएकोले घर बाहिर ननिस्किऔ । घरभित्रै दशैं मनाऔ । जुवातास नखेलौ । अनियन्त्रित तरिकाले मदिरा सेवन नगरौ । मदिरा सेवन गरेर सवारी साधन नचलाऔ ।
सुरक्षाका उपाय अपनाएर सावधानीपूवर्क दशैं मनाऔ । दशैं अर्को वर्ष पनि आउछ । दुर्गा भवानीले अर्को वर्षको दशैं बिगतको झै उल्लासमय बनाउने आर्शिवाद दिउन । दशैं सबैको सुखद रहोस । सबैलाई शुभकामना ।