शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुलेपनि आएनन् पर्यटक
2020/10/28, 2:42
 
corona

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकनका लागि खुले पनि पर्यटक आएका छैनन् ।  विगतका वर्षमा चाडपर्वका बेला आन्तरिक तथा वाह्य पर्यटकले भरिभराउ हुने गरे पनि कोभिड–१९ को त्रासले यतिबेला पर्यटक नआउँदा निकुञ्ज सुनसान भएको छ । विगतका वर्षमा चाडपर्वको यो मौसममा जङ्गल सफारीका लागि उल्लेखनीय रुपमा पर्यटक आउने गरे पनि यतिबेला कहिलेकाहीं जिल्लाभित्रका दुई चार जना पर्यटक मात्र आउने गरेको निकुञ्जले जनाएको छ ।  

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा निकुञ्जमा धेरै पाटे बाघ, विश्वमै दुर्लभ बाह्रसिङ्गाको विशाल झुण्ड, दुर्लभ एकसिंगे गैँडा र हात्तीको लस्कर अवलोकन गर्न सकिन्छ । त्यतिमात्र नभई ३०० भन्दा बढी प्रजातिका चराचुरुङ्गी, सीमसार क्षेत्र र ऐतिहासिक स्थल पनि निकुञ्जभित्र अवलोकन गर्न सकिन्छ । फागुनदेखि जेठ मसान्तसम्म निकुञ्ज घुम्ने उपयुक्त समय भएपनि कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत महिनादेखि लागू गरिएको लकडाउनले गर्दा निकुञ्ज सुनसान बन्नुका साथै आर्थिक नोक्सानी व्यहोर्नु परेको छ ।

निकुञ्जले कात्तिक १ गतेदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड पु¥याएर जङ्गल सफारी गर्न सकिने भन्दै सूचना प्रकाशित गरेको थियो । सामाजिक दूरी कामय राख्दै मास्क र सेनिटाइजरको प्रयोग समेत गर्नुपर्ने निकुञ्जले जनाएको छ । जङ्गल सफारी र वाक सफारी खुला गरिएपनि हात्ती सफारी, फिसिङ, ¥याप्टिङ र क्याम्पिङलगायत गतिविधिमा भने रोक लगाइएको छ । १७ वटा एकसिङ्गे गैँडा, १६ वटा पाटे बाघ, मुलुककै सबैभन्दा ठूलो घासे मैदान, जैविक विविधताले भरिपूर्ण दर्जनबढी तालतलैया र सयौं प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न पाइने शुक्लाफाँटामा पछिल्ला वर्षहरुमा पर्यटक आवमन बढिरहेको तथ्याङ्कले देखाएको छ ।

“बन्दाबन्दीपछि निकुञ्जमा सफारी खुला गर्दा पनि पर्यटकहरु त्यतिधेरै घुम्न आएको देखिएन”, निकुञ्जका रेञ्जर दीपक चौधरीले भने, “निकुञ्ज खुला गरिएपनि आगन्तुकलाई स्वास्थ्य सुरक्षा मापदढड अपनाएर मात्र घुम्न भनेका छौं ।” उहाँले कात्तिक एक गतेदेखि मङ्गलबारसम्म निकुञ्जमा १०३ जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको जानकारी दिए ।

घरबास सञ्चालक चिन्तित 
त्यसैगरी शुक्लाफाँटा निकुञ्जसँगै जोडिएको मुलुकको एक मात्रै राना थारु सामुदायिक होमस्टे (घरबास) कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बन्द रहेको छ । भीमदत्तनगरपालिका–१४ स्थित आठ वटा घरमा होमस्टे सञ्चालनमा छन् । गत चैत महिनायता हालसम्म एक जना पनि पाहुना होमस्टेमा नराखिएको सामुदायिक होमस्टेका सचिब चेतराम रानाले बताए । “कोरोनाका कारण होमस्टे सञ्चालनमा आउन नसक्दा हामी आर्थिक अभावमा पिरोलिएका छौं”, उनले भने, “यस्तै अवस्था रहे होमस्टे सञ्चालकहरु कुखुरा र बाख्रापालन गर्ने सोच बनाउँदैछन् ।”

गत चैत अघि मासिक एक लाखसम्मको कारोबार हुने गरेको बताउँदै उनले लकडाउनका कारण व्यवसाय नै धरासायी भएको जानकारी दिए । मुलुकका विभिन्न क्षेत्रबाट पाहुनाहरु यहाँ आउने क्रम बढिरहेका बेला कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरिएको लामो लकडाउनका कारण घरबास प्रभावित बन्न पुगेको रानाको भनाइ छ ।  त्यसैगरी विगतका वर्षमा यतिबेला पर्यटकले भरिभराउ हुने गरे पनि कोभिड–१९ को त्रासले यतिबेला पर्यटक नआउँदा शुक्लाफाँटा नगरपालिका–३ स्थित खयरकन्द्रा होमस्टे पनि सुनसान भएको छ ।

विगतका वर्षका यस मौसममा दैनिक ठूलो सङ्ख्यामा पर्यटक आउने गरे पनि यतिबेला कहिलेकाहीं जिल्लाभित्रका दुई चार जना पर्यटक मात्र आउने गरेको वडाध्यक्ष नरेन्द्रसिंह चौधरीले बताए । कोरोनाको त्रासका बीचमा समेत पर्यटक भित्रियाउनलाई उत्साहित भए पनि पर्यटक नआउँदा आर्थिक आम्दानीको स्रोत बनाएका घरबास सञ्चालक बढी मर्कामा पर्न थालेको उनको भनाइ छ । “यहाँ होमस्टे सञ्चालनमा आएको थोरै समय भएको थियो”, वडाध्यक्ष चौधरीले भने, “औपचारिक रुपले उद्घाटन नहुँदै कोरोना महामारीका बारण उद्घाटन समेत नभएर होमस्टे बन्द हुन पुगेको छ ।”