धनगढी उपमहानथरपलिका वडा नम्बर १ मा रहेको कब्रिस्तानमा एक कोरोना संक्रमित महिलाको शव गाडिएपछि विवाद भईरहेको छ । मानव वस्तीसँगै रहेको कब्रिस्तानमा शव गाडिएपछि स्थानीय वासिन्दाहरुले विरोध जनाएका छन् । कब्रिस्तानको गेटमा स्थानीय वासिन्दाहरुले तालाबन्दी गरेका छन् । पशुपति टोलको बीचमा मुस्लिम समुदायको शव व्यवस्थापन स्थल रहेको छ । वर्षौंदेखि उनीहरूले यही स्थानमा आफन्तको शव व्यवस्थापन गर्दै आएका थिए ।
कोरोना संक्रमणबाट मृत्यु भएकी धनगढी–२, की ५७ वर्षीया मुस्लिम महिलाको मृत्यु पश्चात् मुस्लिम समुदायले धार्मिक परम्परा अनुसार सोही स्थानमा शव व्यवस्थापन गरेपछि स्थानीयले विरोध जनाएका थिए । धनगढी उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले कब्रिस्तानमा कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएकाले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि भन्दै रोक लगाएको छ । कोरोनाबाट मृत्यु भएकाहरुको शव गाड्दै आईएको छ । कोरोनाबाट मृत्यु भएकाहरुको शरिरबाट कोरोना सर्छ की सर्दैन ? वा गाडिएको शवबाट कोरोना भाईरस संक्रमणको खतरा हुन्छ कि हुदैंन भन्ने विषयमा यो सामाग्री तयार पारेका छौं ।
संक्रमितको मृत्युपछि शवको व्यवस्थापनका क्रममा भने विवाद आइरहेको छ । संक्रमितको मृत शरीरबाट कोरोना सर्छ भन्ने डरका कारण, कतै आफ्नो धार्मिक परम्परा अनुसार दाहसंस्कार गर्न नपाएको गुनासो, केही स्थानमा घाट प्रयोग गर्ने विषयमा अवरोध त कतै शव व्यवस्थापन नै कसरी गर्ने भन्ने अलमलले समस्या सिर्जना गरेको छ । धनगढीमा पनि कब्रिस्तानमा शव गाडिएपछि यस्तै समस्या सिर्जना भएको छ ।
संक्रमितको शव व्यवस्थापनमा समस्या किन आइरहेको छ त ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारी मरेको शरीरबाट पनि कोरोना सर्छ भन्ने डरका कारण समस्या उत्पन्न भएको बताउँछन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेय सर्वसाधारणलाई बुझाउन नसकेका कारण व्यवस्थापनमा समस्या उत्पन्न भएको बताउँछन् ।
नेपाल स्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डाक्टर जोस भ्यान्देलियर निकै कम रोगहरु मात्र मृत्यु भएको मानिसबाट अन्यमा सर्ने बताउँछन् । उनले इबोला, कलेरा जस्ता रोग लागेको व्यक्तिको मृत्यु भएमा अन्यलाई सर्ने खतरा रहने जानकारी दिए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बास्तोला पनि मृत्यु भइसकेको संक्रमितबाट भाइरस अन्यलाई नसर्ने बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको मृत्यु भएमा कसरी शव व्यवस्थापन गर्ने भन्ने विषयमा “कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि २०७६” नै बनाएको छ ।
कोभिड १९ को कारण मृत्यु भएकाको शवको परम्परागत चलि आएका अन्तेष्टि गर्ने स्थानमा नै विशेष सावधानी अपनाई अन्त्येष्टि गर्ने उल्लेख छ । सोही अनुसार दाहसंस्कार गर्न कुनै समस्या नभएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारी बताउँछन् । अन्त्येष्टि गर्ने स्थानमा मृतकका परिवारले शव हेर्न चाहेमा अनुहार मात्र खोली १ मिटरको दूरीमा बसेर अनुहार मात्र हेर्न सकिने, मृत शरीरसँग सिधै सम्पर्कमा नआउने धार्मिक विधिहरु जस्तैः पूजापाठ गर्ने, पानी छर्कने जस्ता क्रियाकलापमा समस्या नहुने तर मृतकलाई छुने, ढोग्ने, अंकमाल गर्ने जस्ता काम गर्न नहुने कार्यविधिमा उल्लेख छ । यसका साथै शवको खरानीले कुनै जोखिम पैदा नगर्ने कुरा पनि कार्यविधिमा उल्लेख गरिएको छ। तर अन्त्येष्टि गर्ने स्थानमा ठूलो जमघट भने गर्नु हुँदैन । एक आपसमा न्यूनतम १ मिटरको भौतिक दूरी कायम राख्नुपर्ने बुँदा पनि कार्यविधिमा उल्लेख छ । सो कार्यविधि अनुसार हाल स्थानीय प्रशासनको समन्वयमा नेपाली सेनाले कोरोना संक्रमित मृतकको शवको व्यवस्थापन गर्दै आइरहेको छ ।
कोरोनाबाट संक्रमण भएका व्यक्तिको शव सरकारले मृतकको परिवार तथा आफन्तलाई छुन दिँदैन, नेपाली सेना मार्फत सुरक्षित किसिमले अन्त्येष्टि गराउने गरेको छ । तर सरकार (स्वास्थ्य तथा जनसंख्या मन्त्रालय) ले एउटा यस्तो भिडियो सन्देश जारी गरेको छ– जहाँ विज्ञले लासबाट कोरोना नसर्ने बताइरहेका छन् । तर पनि सतर्कता अपनाउनुपर्ने सन्देश दिइएको छ ।
कोरोनाबाट मृत्यु भएकाको कोरोना भाइरस सर्छ कि सर्दैन, के भन्छ विज्ञान ?
कोभिड १९ को बिरामीको अन्तिम समय आएका बेला एउटा कठोर दृश्य देखिने गरेको छ । त्यसबेला उनीहरूको मृत्युमा शोक व्यक्त गर्ने आफन्तहरू साथमा हुँदैनन् । ती दृश्यहरूले केवल मृत्युको मात्र होइन मृतकसँग पनि त्रास पैदा गरिरहेका छन् । त्यसले पोस्टमोर्टमबाट रोग फैलन सक्ने आशङ्का र सङ्क्रमितको शरीरबाट भाइरस सर्नसक्ने सम्भावनाको डर पैदा गरिदिएको छ । के मृतकको शरीरले कोभिड १९ फैलाउन सक्छ ? अन्तिम संस्कार गर्नु सुरक्षित छ कि छैन ? अनि शवलाई जलाउनु ठीक कि गाड्नु ?
शवबाट कोभिड १९ सर्छ ?
शव बोक्नेहरूले सुरक्षात्मक पोसाक लगाउनु पर्ने डब्लूएचओले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार यदि आवश्यक सावधानी अपनाइएको छ भने मृतकको शरीरबाट कोभिड १९ सर्छ भनेर डराउनुपर्ने कुनै कारण छैन । यो रोग लगाउने सार्स कोभ २ भाइरस विशेष गरी मानिसहरूले निकाल्ने थुक वा ¥याल जस्ता कुराका छिटाहरूबाट सर्छ । बोल्दा, हाच्छिउँ गर्दा वा खोक्दा यस्ता छिटाहरू निस्कन्छन् । अनि कतिपय कडा सतहहरूमा यी भाइरस केही दिनसम्म जीवित रहन सक्छन् । “आजका दिनसम्म मृतकको शरीरबाट जीवित मान्छेमा यो भाइरस सरेको कुनै पनि प्रमाण भेटिएको छैन, एउटा पत्रकार सम्मेलनमा अमेरिकन हेल्थ अर्गनाइजेसनका एक जना प्रवक्ता विलियम अडुक्रोले भनेका थिए ।
मृतकको शरीरमा भाइरस बाँच्न सक्छ ?
“त्यसो भन्दैमा हामीले यो सर्दैन भन्न खोजेका होइनौँ । तपाईं मृतकलाई एकदमै प्रेम गर्नुहुन्छ त्यसैले चुम्बन गर्न वा अन्य त्यस्तै गर्न चाहनुहुन्छ । हामीले अझै पनि रोकथाम र नियन्त्रणको अभ्यास गर्नुपर्छ,“ उनले भने । डब्लूएचओले गत मार्चमा जारी गरेको एउटा निर्देशिकामा रक्तश्राव हुने खालका ज्वरोहरू (इबोला जस्ता) र हैजालाई छाडेर आम रूपमा मृतकको शरीरबाट सङ्क्रमण नहुने उल्लेख छ । त्यसमा भनिएको छ, “यदि महामारीयुक्त इन्फ्लुएन्जा भएर मृत्यु भएकाहरूको फोक्सोलाई चिरफारका बेला सही तरिकाले सम्हालिएन भने रोग सर्नसक्छ । अन्यथा शवबाट रोग सर्दैन ।“
तर कडा खाले श्वास प्रश्वास सम्बन्धी रोगबाट मृत्यु भएकाहरूको फोक्सो र अन्य अङ्गहरूले भाइरसका लागि आश्रयस्थलको काम गरेका हुन सक्छन् । चिरफारका बेला ती भाइरसहरू बाहिर आउन सक्छन् । त्यसमा प्रयोग भएका उपकरणहरूमा पनि ती बस्न सक्छन् । कोभिड १९ लागेर ज्यान गएकाहरुका मृतकका आफन्त र साथीहरुले के विचार गर्नु जरुरी छ भने शव गाड्ने वा जलाउने कार्य सुरक्षित रूपमा व्यवसायिक मानिसहरूबाट गरिएको हुनुपर्छ ।
के हामी अन्तिम संस्कारमा जान सक्छौँ ?
केही स्थानमा कोभिड १९ का कारण लगातार मृतकको सङ्ख्या बढ्दा अन्तिम संस्कारमा सङ्कट पैदा भएको छ । सामाजिक दूरी कामय गर्नुपर्ने भएकाले कैयौँ देशहरूमा अन्तिम संस्कार बन्द गरिएको छ । अन्यले हालसम्म अनुमति त दिएका छन् तर सीमित सख्यामा मात्र मानिसहरू सहभागी हुन पाउँछन् ।
सन्दर्भ सामाग्रीहरुः बीबीसी÷विभिन्न अनलाईन
भिडियो सौजन्यः स्वास्थ्यखबर डटकम