महेन्द्रनगरमा निर्माण सम्पन्न भएको एक वर्षमै भत्कीयो नमुना बसपार्क
2019/09/19, 4:01
 
fgffg

कञ्चनपुरको महेन्द्रनगरमा झण्डै साढे आठ करोडको लगानीमा निर्माण गरिएको नमुना बसपार्क एक वर्षमै भत्कीन थालेको छ। निर्माण सम्पन्न भएर गतवर्ष साउनमा विधिवत रुपमा उद्घाटन गरिएको बसपार्क भत्कीन थालेको हो। भीमदत्त नगरपालिकाको स्वामित्वमा रहेको नमुना बसपार्कको कालोपत्रे उपडखापड भएको छ भने टायल समेत उप्कीन थालेको छ।

निर्माण सम्पन्न भएको एक वर्षमै बसपार्क भत्कीन थालेपछि कमसल समाग्री प्रयोग भएको आशंका गरिन थालेको छ। तर बसपार्क निर्माण गर्ने मध्येका जोशी निर्माण सेवाका सञ्चालक गणेशदत्त जोशीले बसपार्कमा कालोपत्रे गर्दा र टायल बिछाउँदा कमसल समाग्री प्रयोग गरिएको आरोप गलत भएको दावी गरे।

जोशीले कालोपत्रेमा पानी जम्न नहुने भएपनि बसपार्कमा पानी जम्मा भइरहने हुँदा कालोपत्रे भासिएको  दावी समेत गरे। उनले जथाभावी गाडीको ब्रेक लगाउँदा समेत कालोपत्रे भासिएको जिकिर समेत गरेका छन्। झण्डै डेढ वर्ष लगाएर गत वर्ष आठ करोड ३२ लाखमा आशिष कुमार श्रेष्ठ जेभी  र जोशी विल्डर्सले बसपार्क निर्माण गरेको थियो।

भीमदत्त नगरपालिकाको स्वामित्व रहेको उक्त बसपार्कमा चार सय सवारी साधन पार्किङ्ग गर्न सकिने व्यवस्था गरिएको छ भने टर्मिनल भवन, वासिङ्ग रुम, शौचालय ब्लक, सेकुरिटी भवन, यात्रु प्रतिक्षालय र साना सवारी पार्किङ्ग स्थल लगायतका संरचना पनि निर्माण गरिएको छ।

यसैगरी कार्यालय भवन, ग्रिन पार्क, घन्टाघर, पेट्रोल पम्प, ट्रयाक्सी स्टेन्ड, डिजिटल सूचना बोर्ड, ढल निकास, शौचालय, व्यावसायिक कक्ष, टिकट काउन्टर, सौय बत्ती, लकर रुम र गाडी स्टाफका लागि आरामगृह निर्माण लगायतका संरचना पनि निर्माण गरिएका छन्।