सुदुरपश्चिम प्रदेशका ७ जिल्लामा कोरोना संक्रमित भेटिए, कुन जिल्लामा कति ? 
2020/05/28, 2:02
 
korona

सुदुरपश्चिम प्रदेशका ७ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । कैलालीमा पहिलो संक्रमित भेटिएकोमा आजसम्म दार्चुलामा गरी प्रदेशका सात जिल्लामा कोरोना संक्रमित पुगेका हुन् । डोटी र बाजुरामा कोही पनि संक्रमित भेटिएका छैनन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कैलाली कञचनपुर, डडेल्धुरा, अछाम, बैतडी, बझांग र दार्चुलामा कोरोना संक्रमितहरु फेला परेका छन् ।

1

कैलालीमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् भने कञचनुर, डडेल्धुरा दार्चुला र बझांगमा सबैभन्दा कम एक एक जनामा संक्रमित भेटिएका छन् । प्रदेशमा सबैभन्दा बढी कैलालीमा १०, बैतडीमा ५, अछाममा दुई, दार्चुला, कञ्चनपुर र डडेल्धुरामा एक÷एक जनामा कोरोना पुष्टि भएकोमा पाँच जना संक्रमित कोरोनालाई जितर घर फर्किएका छन । बझाङमा पनि एक जना संक्रमित भेटिएका छन् । उनको सुर्खेतको प्रयोगशालामा परिक्षण गर्दा कोरोना पोजेटिभ आएको हो । 

सुदूरपश्चिममा आज मात्रै थप तीन जनामा कोरोना पुष्टि भएको छ । धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार दुई जना कैलाली र एकजना दार्चुलाका पुरुषमा कोरोना पुष्टि भएको हो । कैलालीको जानकी गाउँपालिकाका २५ र ३० बर्षीय पुरुष तथा दार्चुलाको महाकाली नगरपालिका वडा नम्वर ५ का २१ बर्षीय युवकमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । नयाँ संक्रमित तीनै जना भारतबाट आएको खुलेको छ। कैलालीका दुई जना त्रिनगर र खक्रौला तथा दार्चुलाका सक्रमित जिल्लाकै नाकाबाट स्वदेश फर्किएको खुलेको हो ।

 

१३ गते मात्रै कैलालीको जानकी गाउँपालिकाका ३८ बर्षीय पुरुष र अछामको मेल्लेख गाउँपालिकाकी ११ बर्षीय बालिका गरी सुदूरपश्चिममा थप दुई जनामा कोरोना पुष्टि भएको थियो । अछामकी संक्रमित बालिका जेठ ८ गते आफ्ना बुवासंगै गौरीफन्टा नाका भएर धनगढी भित्रिएकी थिईन् । उनका बुवामा पनि आईतवार कोरोना संक्रमण पुष्टि भईसकेको छ । उनको सेती अस्पतालमा उपचार भईरहेको छ । कैलालीका संक्रमित पनि भारतबाट आएको खुलेको थियो । सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । उनी युएईको दुबईबाट फर्किएका थिए । त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो ।

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, कैलाली लम्कीका २१ बर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो । लम्कीका २१ बर्षीय युवक भारतबाट फर्किएका थिए । बैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो । उनी पूर्वी नेपालबाट सुदूरपश्चिम आएकी थिईन । बैशाख १ गतेसम्म पुष्टि भएका पाँचै जना संक्रमित कोरोनालाई जितेर घर फर्किसकेका छन । त्यसपछि ४० दिनसम्म सुदूरपश्चिम प्रदेशमा कोरोनाका नयाँ संक्रमित फेला परेनन । 

जेठ नौँ गते एकै दिन सुदूरपश्चिमका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भयो । कैलालीको जानकी गाउँपालिकाका तीन जना, डडेल्धुराको परशुराम नगरपालिका एक जना र बैतडीको शिवनाथ गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको थियो । कैलालीका तीन जना संक्रमित मध्ये एक जना भारतबाट लुकिछीपी आएका थिए भने बैतडीका संक्रमित पनि संक्रमण पुष्टि हुनुभन्दा ६५ दिन अगाडि भारतबाट फर्किएका थिए । अन्य तीन जनाको भने आन्तरिक ट्राभल हिस्ट्री मात्रै रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यसपछि जेठ १० गते थप चार जनामा कोरोना पुष्टि भयो । बैतडीको शिवनाथ गाउँपालिका वडा नम्वर १ र २ का २०, २०, २२ र २७ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । चारै जना जेठ ८ गते भारतबाट गौरीफन्टा नाका हुँदै धनगढी भित्रिएका थिए । जेठ ११ गते अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भयो । उनी पनि जेठ ८ गते नै भारतबाट फर्किएका थिए ।

उता एक जनामा सुर्खेतको प्रयोगशालामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ सङ्क्रमित फेला परेकोमा एक जना सुदुरपश्चिमको वझांगका रहेका छन् । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर परीक्षण गरिएकामध्ये सुदुरपश्चिमको बझाङ घर भएका ५५ वर्षीय एक पुरुषमा  कोरोना पोजिटिभ देखिएको छ ।