सुदूरपश्चिममा एक महिनामा मात्रै ३२ जना कोरोना संक्रमितको मृत्यु, मृतक को हुन् ? 
चिसोसँगै बढ्दैछ कोरोना मृत्युदर
2020/11/23, 2:03
 
death

सुदूरपश्चिममा पछिल्लो एक महिनामा कोरोनाका कारण २८ जनाको मृत्यु भएको छ । पाँच महिनामा कोरोनाबाट ५३ जनाको मृत्यु भएको छ । त्यसमा प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा भने ३६ जनाको मात्रै मृत्यु भएको छ । यसमा प्रदेश बाहिर कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या समावेश गरिएको छैन् ।

गत कार्तिक २ गतेदेखि मंसीर ५ गतेसम्मको तथ्यांक केलाउँदा २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंसीर महिनामा कोरोनाबाट चार जनाको मृत्यु भएको छ । कार्तिक महिनामा भने कोरोनाबाट २३ जनाको मृत्यु भएको छ । गत मंसीर ५ गते कोरोनाका कारण दुई जनाको मृत्यु भयो । सेती प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको छ । अस्पतालमा कोरोना पोजेटिभ भएर उपचार गरिरहेकी कैलालीको गौरीगंगा नगरपालिकाका ७५ बर्षीया महिला र धनगढी उपमहानगरपालिकाका ५५ बर्षीय पुरुषको मृत्यु भयो । 

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ५५ बर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भयो । ती पुरुष गत कार्तिक २५ गते कोरोना पोजेटिभ भएर अस्पतालमा उपचार गरिरहेका थिए । अवस्था गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमा उपचारका क्रममा ती पुरुषको मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए । सोही दिन सेती प्रादेशिक अस्पतालमा उपचारत ७५ बर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भयो । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ की ७५ बर्षीया महिलाको मृत्यु भयो । उनी सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालको भेन्टिलेटरमा गत कार्तिक २९ गतेदेखि उपचार गराईरहेकी थिईन् ।

मंसीर ४ गते सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका कोरोना संक्रमितको मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका गोदावरी नगरपालिका–४ का ७३ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भयो । कोरोना पोजेटिभ देखिएपछि कोभिड अस्थायी अस्पतालमा सार्ने क्रममा उनको मृत्यु भएको थियो । मंसीर १ गते दार्चुलाको दुहु गाउँपालिका–२ का ३० वर्षीय युवकको उपचारका लागि धनगढी ल्याउदै गर्दा बाटोमै मृत्यु भएको थियो । नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रमा कार्यरत उनीमा श्वास प्रश्वासको समस्या देखिएको थियो । त्यसपछि दार्चुलाबाट धनगढी रेफर गरिएका उनको बैतडीको सतबाँजमा मृत्यु भएको थियो । शरिरमा अक्सिजनको मात्रा कम रहेकाले उनको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरी बैतडी प्रयोगशालामा पठाईएको थियो । मृत्युपछि उनको कोरोना रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल अस्प्तालका प्रयोगशाला प्रमुख श्यामराज जोशीले जानकारी दिए । 

कार्तिक ३० गते कञ्चनपुरका कोरोना संक्रमितको मृत्यु भयो ।  बेलौरी नगरपालिका–१ का ३२ वर्षीय युवकको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि कार्तिक २३ मा मेडिकल कलेज भर्ना भएका ती युवकको २५ गते स्वाव संकलन गरिएको थियो । कार्तिक २६ मा उनलाई कोरोना संक्रमण देखिएको प्रशासनले जनाएको छ । श्वासप्रश्वास लगायतका समस्याका कारण उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । सोही दिन कोरोना संक्रमणबाट नेपाली कांग्रेस कैलालीका नेता तथा महासमिति सदस्य लक्ष्यबहादुर न्यौपाने (लक्ष्मण) को मृत्यु भयो ।

कैलालीको भजनी नगरपालिका–८ गोलचउराका ६५ वर्षीय नेता न्यौपानेको नेपालगन्जको भेरी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । सेती प्रादेशिक अस्पतालमा गरिएको पिसिआर परीक्षणमा गत कार्तिक २१ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी होम आइसोलेसनमा बसेका थिए । धनगढीको कोरोना अस्पताल ल्याइएका उनलाई थप उपचारका लागि नेपालगन्ज लगिएको थियो । 

कार्तिक २९ गते धनगढीका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भयो । उप–महानगरपालिकाको वडा नम्बर १६ का ४० वर्षीय पुरुषको मृत्यु भयो । ब्लड क्यान्सर पिडित पुरुषको कोभिड अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कार्तिक २२ गते कोरोना पोजिटिभ देखिएपछि  उनको २३ गतेदेखि कोभिड अस्थायी अस्पतालमा उपचार भईरहेको थियो । कार्तिक २७ गते डडेल्धुरामा होम आईशोलेसनमा बसेका एक जना कोरोना संक्रमितको मृत्यु भयो परशुराम नगरपालिका–१२ का ६५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ती हरी भट्टले पुष्टि गरे । मृगौलाका बिरामी रहेका उनी कोरोना पुष्टिपछि घरमै होम आइशोलेसन बसेका थिए ।  कार्तिक २५  गते धनगढीमा कञ्चनपुरका कोरोना संक्रमित पुरुषको मृत्यु भयो ।

कञ्चनपुरको बेलौरीका ६२ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो । उनमा निमोनियाको समस्या देखिएको थियो । कार्तिक २१ कोरोना पोजिटिभ देखिएको उनलाई सो दिन नै अस्पताल भर्ना गरिएको थियो ।  कार्तिक २४ गते दुई जनाको कोरोनाबाट मृत्यु भयो । कैलालीको टीकापुरका सामाजिक अगुवा मोहनबहादुर रावलको ९० वर्षको उमेरमा कोरोनाबाट मृत्यु भयो । उनको टीकापुर नगरपालिका–१ ब्लक नम्बर ए स्थित आफ्नै निवासमा कोरोना संक्रमणबाट मृत्यु भएको छोरा भक्त रावलले जानकारी दिए । मृतक रावलको कार्तिक १७ गते स्वाब संकलन गरिएकोमा २० गते कोरोना संक्रमण भएको रिपोर्ट आएको थियो । होम आइसोलेसनमा रहेका रावललाई श्वास प्रश्वासमा निकै समस्या भएको थियो । सोही दिन धनगढी उप–महानगरपालिका वडा नम्बर २ का ८४ वर्षीय पुरुषको पनि मृत्यु भयो । उनको सेतीको कोभिड अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भयो । उनमा कडा खालको निमोनियाको समस्या देखिएको थियो । कार्तिक २१ कोरोना पोजिटिभ देखिएको उनलाई सो दिन नै अस्पताल भर्ना गरिएको थियो ।

कार्तिक २२ गते कैलालीमा २ जना कोरोना संक्रमितको मत्यु भयो । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार टीकापुरका एक पुरुष र बर्दगोरियाका एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनका अनुसार टीकापुर नगरपालिका–१ का ३९ वर्षीय एक पुरुष र बर्दगोरिया गाउँपालिका–४ की ५९ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनीहरुको होम आईसोलेसनमा बसेका बेला मृत्यु भएको थियो । कार्तिक २१ गते पनि कोरोनाबाट दुई जनाको मृत्यु भयो । टीकापुर नगरपालिका वडा नम्बर १ की ५६ वर्षीया महिलाको मृत्यु भयो । उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको थियो । कात्तिक २० गते अस्पताल भर्ना भएकी उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

सोही दिन सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका वडा नम्बर ३ का  वडाध्यक्ष नरेन्द्रबहादुर शाहको पनि मृत्यु भएको थियो । शाह १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो । कडा खालको निमोनिया देखिएपछि कार्तिक १२ गते अस्पताल भर्ना भएका शाहलाई १७ गते कोरोना पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि ७३ वर्षीय शाहलाई कोरोना अस्थायी अस्पतालमा सारिएको थियो । ७३ वर्षीय शाह गौरीगंगा नगरपालिकाका प्रवक्ता समेत थिए ।

कार्तिक २० गते पनि धनगढीमा कोरोना संक्रमित एक बृद्धको मुत्यु भयो । धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ९२ वर्षीय पुरुषको मृत्यु भयो । कार्तिक १७ गते कोरोना पुष्टि भएका बृद्धको अस्पतालको भेन्टिलेटरमा उपचार हुँदै आएको थियो । गत कार्तिक १६ पनि कैलालीका कोरोना संक्रमित पुरुषको मृत्यु भयो । नेपालगञ्जको भेरी अस्पतालमा उपचाररत टिकापुर नगरपालिका वडा नम्बर १ का ६० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो । कार्तिक १४ गते अस्पतालको प्रि–आइसोलेसन वार्डमा भर्ना गरिएको ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु भएको थियो । 

कार्तिक १३ गते भक्तपुर अस्पतालमा उपचाररत कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ की २८ वर्षीय संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भयो । भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतमले छाला र मिर्गौला सम्बन्धी रोगको उपचार गराइरहेकी महिलाको संक्रमणबाट मृत्यु भएको जानकारी दिईन् । उनी कात्तिक ३ गते मात्र उपचारका लागि भर्ना भएकी थिईन् । सोही दिन सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको पनि मृत्यु भयो । धनगढी उप–महानगरपालिका वडा नम्बर २ कि ५७ बर्षिया महिला कडा खालको निमोनिया देखिएपछि असोज १० गते भर्ना भएकी थिईन् । 

कार्तिक ९ गते जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएका जयपृथ्वी नगरपालिका वडा नम्बर ८ बारिलका २८ वर्षीय युवकमा संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका युवकको मृत्युपछि संक्रमण पुष्टि भएको जिल्ला अस्पताल बझाङका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सन्दिप ओखेडाले बताए । उनी एक हप्तादेखि अस्वस्थ्य थिए । कार्तिक ८ गते कोरोना संक्रमित डोटीका व्यापारीको धनगढीमा मृत्यु भयो । डोटीको दिपायलमा रहेको जेभि आयल स्टोरका सञ्चालक कर्णबहादुर भण्डारीको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । निमोनियाका बिरामी रहेका भण्डारीको आईसियूमा उपचार हुँदै थियो । कार्तिक ५ गते बाँकेमा उपचाररत कञ्चनपुर बेलाडी—५ का २४ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भयो । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति नरेश श्रेष्ठले मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि कोहलपुर आएका युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिए ।  उनलाई गत असोज ३० गते थप उपचारका लागि कोहलपुर शिक्षण अस्पताल भर्ना गरिएको थियो । उनको कात्तिक ३ गते स्वाब संकलन गरिएको थियो । त्यसैदिन उनको रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पोजेटिभपछि सम्पूर्ण पद्धति अपनाएर उपचार गर्दा पनि उनलाई बचाउन नसकिएको  श्रेष्ठले बताए । सोही दिन र अघिल्लो राती सुदूरपश्चिमका थप तीन जना कोरोना संक्रमितको मृत्यु भयो । 

होम आइसोलेसनमै बसिरहेका धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ६८ वर्षीय पुरुष र धनगढीकै ६० वर्षीय व्यापारीको मृत्यु भयो । सेती अस्पतालका अनुसार असोज २८ गते संक्रमण पुष्टि भएका धनगढी २ का ६८ वर्षीय पुरुषको अवस्था गम्भीर भएपछि उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको हो । उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ भने अर्को ६० वर्षीय व्यापारीको भारतको लखनउमा मृत्यु भएको हो । १५ दिन अगाडी सेती अस्पतालमा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको थियो । अवस्था गम्भीर भएपछि उपचारका लागि लखनउ लगिएको थियो । त्यहाँ उपचारका क्रममा मृत्यु भएको हो । यस्तै सेती प्रादेशिक अस्पतालमा उपचाररत नेपाली कांग्रेस डोटीका नेता तेज पुनको पनि कोरोना संक्रमणबाट मृत्यु भयो । केआईसिंह गाउँपालिका–४ वायलका ५० वर्षीय पुनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उपचारका लागि आएका उनको आइसियुमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा उनीमा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना अस्थायी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । पुन नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल आदिवासी जनजाती संघ डोटीका अध्यक्ष समेत रहेका थिए । 

कार्तिक ४ गते धनगढीमा उपचाररत कञ्चनपुरका कोरोना संक्रमितको मृत्यु भयो । रिर्पोट नेगेटिभ आएपछि भेन्टिलेटरबाट निकालिएका कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८ का ३८ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । सोही दिन कोरोना संक्रमणबाट थप एक जनाको पनि मृत्यु भयो । कोरोना अस्पतालमा उपचाररत दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर २ का ५२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति विरेन्द्रप्रसाद भट्टले १४ दिन अघि संक्रमण पुष्टि भएका पुरुषको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे । उनका अनुसार स्वास्थ्य अवस्था जटिल भएपछि मात्र ती संक्रमित पुरुष उपचारका लागि धनगढी आएका थिए । कार्तिक २ गते धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ४२ वर्षीय संक्रमित पुरुषको होम आइसोलेसनमा मृत्यु भयो । क्यान्सर पीडित ती पुरुषलाई असोज १७ गते कोरोना पुष्टि भएको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

असोज २४ गते गते धनगढीका कोरोना संक्रमित पुरुषको मृत्यु भयो । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का ५२ वर्षीय पुरुषको मृत्यु भएको हो । असोज २० गते कोरोना पुष्टि भएका ती पुरुष स्वास्थ्यमा समस्या देखिएपछि २३ गते मात्र सेती अस्पताल भर्ना भएका थिए । असोज १८ गते सेती प्रादेशिक अस्पतालबाट थप उपचारका लागि रेफर गरिएकी कञ्चनपुरकी कोरोना संक्रमित महिलाको मृत्यु भयो । प्रादेशिक अस्पतालबाट रेफर भएपछि बाँकेको कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्वर २ निवासी २९ वर्षीया संक्रमित महिलाको मृत्यु भएको थियो । असोज १३ गते सेती प्रादेशिक अस्पतालमै उनले एक छोरा र एक छोरीलाई जन्म दिएकी थिइन् । उनी गर्भवती भएदेखि नै रक्तश्राव हुँदै आएको र सुत्केरी भएपछि पनि उच्च रक्तश्राव भएको थियो । कोरोना संक्रमणको आशंकामा ती महिलाको स्वाब परीक्षण गर्दा असोज १५ गते रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि १६ गते रेफर गरिएपछि कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारका लागि लगिएकोमा असोज १८ गते मृत्यु भएको थियो ।

असोज १६ गते बाँकेमा धनगढीकी युवतीको कोरोनाका कारण मृत्यु भयो  । धनगढीकी २५ बर्षीया युवतीको कोरोना संक्रमणबाट भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भयो । नेपालगन्ज उपमहानगरपालिका–९ बाँकेगाउँमा डेरा गरी बस्ने २५ बर्षीया युवतीको स्थायी घर धनगढी उपमहानगरपालिका वडा नम्वर २ सन्तोषी टोल रहेको जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी दिर्घराज उपाध्यायले बताए । स्वास्थ्यमा समस्या देखिएपछि उनले भदौ २९ गते कोरोना परीक्षणका लागि स्वाव दिइएकी थिइन् । ३० गते रिपोर्ट पोजेटिभ आएको थियो । उनी त्यसैदिन अस्पताल भर्ना भएकी थिइन् । उनलाई रेमडिसिभिर र प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो । असोज १५ गते सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीकी कोरोना सक्रमितको मृत्यु भयो । गोदावरी नगरपालिका वडा नम्वर १२ की ३० बर्षीया महिलाको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।