कैलालीका दुई पत्रकारको ‘बार्गेनिङ’ अडियो बाहिरियो !
धम्क्याएर पैसा असुलीको धन्धा
2020/11/23, 9:10
 
A

कैलालीका दुई पत्रकारले आर्थिक चलखेल गरी ठगी गरेका घटनाहरु बहिरिएका छन् । नाइस टेलिभिजनका सुदूरपश्चिम ब्युरो प्रमुख हिमेश विक र नाइस टेलिभिजनमै आबद्ध गोविन्द विसीले कैलालीका विभिन्न व्यक्तीलाई डर देखाएर आर्थिक बार्गेनिङ गरेको खुलेको हो ।  उनीहरुले समाचार प्रकाशन गरिदिने भन्दै धम्काउने, पैसा नभएको चेक दिने, उधारो खाएर भाग्ने, विभिन्न बहाना बनाएर ठगी गर्ने जस्ता घटना बाहिरिएका हुन् । 

लामो समय आर्थिक दैनिकमा कार्यरत पत्रकार विक यस्तै ‘बार्गेनिङ’का घटना बहिरिएपछि निष्कासन भएका थिए । यतिबेला आर्थिक ‘बार्गेनिङ’ र ठगी गरेका घटना एकपछि अर्को गर्दै बाहिरिएपछि पत्रकारिता जगतमा दाग लागेको छ । पत्रकारकाले गरेका ‘बार्गेनिङ’ र ठगीका घटना बाहिरिनु राज्यको चौथो अंग लज्जित बनेको धनगढीका पत्रकारहरु बताउँछन् ।  

घटनाः १
हिमेश विक र गोविन्द बिसीले कैलालीको गौरीगंगा नगरपालिका–१ स्थित श्रीवास्तव मेडिकल हलका सञ्चालकबाट एक लाख असुल्न पटक पटक धम्की दिएको अडियो बाहिरिएको छ । उनीहरुले मेडिकल सञ्चालक कमलेश ससेनाकी श्रीमती लीला सुनारलाई डराई धम्काई २५ हजार असुली गरी र थप ७५ दिनुपर्ने भन्दै टेलिफोनमा धम्काएपछि उक्त घटना बाहिरिएको हो ।

उनीहरुले सुरुमा दुई लाख रुपैयाँमा ‘बार्गेनिङ’ गरेका र पछि एक लाख दिनुपर्ने भन्दै धम्की दिएका सञ्चालक कमलेश सक्सेनाले बताए । उनले भने, ‘श्रीमती लीला सुनारबाट तपाईलाई आवश्यक समस्या परे सहयोग गर्ने भन्दै रकम असुल गरे, थप पैसा माग्न अझै पटक पटक टर्चर गरिरहेका छन् ।’ 

घटनाः २
अत्तरियाका एक व्यापारीसँग फर्निचर लिएर हिमेश विकले पैसा नभएको चेक दिएको अर्को घटना बाहिरिएको छ । उनले दिएको चेकमा पैसा नभएको र त्यसपछि अहिलेसम्म सम्पर्कमा नआएको पीडितले गुनासो गरेका छन । यस्तै अत्तरियामै रहेको श्री लाटाकाफली आधुनिक फर्निचरलाई पनि सानिमा बैंकको चेक दिएको अहिलेसम्म पैसा नपाएको सञ्चालकले गुनासो गरेका छन । उनले तुलसीदेवी रावलका नाममा चेक दिएका थिए ।

घटनाः ३
हिमेश विकले कैलालीका दुई जना उपमेयरलाई टेलिभिजनमा अन्तर्वार्ता गराउने भन्दै काठमाडौं लगेर होटलमा राखेर पैसा नतिरेरै भागेको घटना सार्वजनिक भएको छ । ती उपमेयरहरुलाई काठमाडौं घुमाउन उनले आठ दिनसम्म प्रयोग गरेको ट्याक्सी भाडा समेत नतिरेको खुल्नमा आएको छ । विकले दैनिक पाँच हजारको दरले ट्याक्सी चढेको चालक गोकर्ण प्रसाद घिमरेले आईतबारको सीधा कुरा जनता कार्यक्रममा आएर गुनासो गरेका थिए । उनले आठ दिनको ४० हजार र २१ हजार नगद ट्याक्सी चालकसँग सापटी लिएको रकम लिएर लामो समयदेखि सम्पर्कविहीन बनेको भन्दै कार्यक्रमै गुनासो गरेका थिए ।

घटनाः ४
हिमेश विकले धनगढीका स्टेशनरी सञ्चालक तथा पत्रकार डिल्ली ओझाको २० हजार बढी रकम लामोसम्म नदिएपछि उनका बुवाबाट असुल गरेको बताएका छन । उनले धनगढी काठमाडौं र काठमाडौं–धनगढीको हवाई भाडा दुई वर्षदेखि नदिएको र अझै केही रकम दिन बाँकी रहेको ओझाले बताए । 

पत्रकारको परिचयमा ठगी र ‘बार्गेनिङ’ को सञ्जाल बनाएको आरोप
माथि उल्लेख गरिएका केही प्रतिनिधि घटनाहरु मात्रै हुन् । विक र विसीले कैलाली लगायत विभिन्न ठाउँमा पत्रकारको परिचय दिएर ठगी र ‘बार्गेनिङ’ गर्ने सञ्जाल बनाएको आरोप पनि लागेको छ । उनीहरुले रकम नभएको चेक दिने, उधारो खाने, समाचार प्रकाशन गरिदिने भन्दै रकम बार्गेनिङ गर्ने, विभिन्न बाहना बनाएर ठगी गरेर हिँड्दै गरेका घटना बाहिरिँदै गएका छन् । विकले आफ्नी आमा सांसद भएको भन्दै अत्तरियाका एक जनाबाट लाखौं रकम लिएको बताईएको छ ।

उनले जागीरको सरुवा मिलाई दिने भन्दै रकम लिएका थिए तर पनि उनले काम नगरेको पिडितले बताएका छन् । धनगढीमा मिटर व्याजीहरुसँग पनि विकको संग्लनता रहेको आरोप लागेको थियो । उनले मिटर ब्याजमा फसेकाहरुको भेला गर्दै पत्रकार सम्मेलन समेत गरेका थिए । पत्रकारितामा आएको छोटो समयमै उनी गाडी चढ्न थालेका छन् । गाडीमा पनि सञ्चार माध्यमको लोगो लगाउँदै त्यसको आँडमा अन्य कामहरु गर्दै आएको आरोप पनि लाग्दै आएको छ । 

सामाजिक सञ्जाल रंगिए 
यतिबेला भने आर्थिक ‘बार्गेनिङ’ र ठगी गरेका घटनाहरु एकपछि अर्को गर्दै बाहिरिएपछि समग्र पत्रकारिता जगतनै बद्नामित भएको भन्दै सञ्चारकर्मीहरुले पत्रकार बिकलाई कारबाहीको माग गर्दै सामाजिक सञ्जाल रंगाएका छन् । पत्रकारहरुले सञ्चारकर्मीकै ग्रुप च्याटमा बिकको आलोचना गर्दै त्यस्ता व्यक्तीलाई बहिष्कार गरिनुपर्ने माग गरेका छन् । पत्रकारकाले गरेका ‘बार्गेनिङ’ र ठगी गरेका घटना बाहिरिएपछि राज्यको चौथो अंग लज्जित बन्नु परेको धनगढीका पत्रकारहरुको भनाई छ । 

मेरो संग्लनता छैनः विक
यी घटनाहरुको बिषयमा पत्रकार बिकले भने आफ्नो कुनै संग्लनता नरहेको दावी गरेका छन् । उनले आरोप प्रमाणित भए सजाय भोग्न तयार रहेको बताएका छन् । आफ्ना कर्मचारीले गरेको अडियो कुराकानी नसुनेको र त्यसमा आफुले कसैसँग माग नगरेको उनको तर्क छ । तर उनी स्वयमले नेपाली काग्रेंस कैलालीका जिल्ला कार्य समिति सदस्य लक्ष्मी देवकोटासँग कुरा गर्दै यस विषयमा आफुले भेटेर कुरा गर्ने बताएका छन् ।

देवकोटासँग नै गोविन्द विसीले गरेको कुराकानीमा यो सबै काम विकले नै गरेको र आफुलाई कुनै थाहा नभएको बताएका छन् । विसीले मेडिकल सञ्चालक कमलेश सक्सेनासँगको कुराकानीमा कार्यालयको आर्थिक हिसाब किताब मिलाउनु पर्ने भएकोले बाँकी ७५ हजार रकम दिन ‘बार्गेनिङ’ गरेका छन् ।                                              -यसअघि यो समाचारसँग सम्बन्ध नराख्ने ब्यत्तिको फोटो त्रुटिवस प्रकाशन भएकोले यस्ले सम्बन्धित ब्यत्तिमा पर्न गएको असरप्रती क्षमा चाहन्छु । फोटो सच्याईएको छ ।