सुदूरपश्चिम प्रदेशका ९०४७ जनाले कोरोना जिते 
2020/11/24, 10:57
 
corona

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ९ हजार नाघेको छ । सामाजिक विकास मन्त्रालयका  अनुसार पछिल्लो २४ घण्टामा ९०  जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । सुदूरपश्चिममा योसँगै निको हुनेको ९ हजार ४७ पुगेको छ । सोमबार कैलालीबाट मात्रै ८० जना बिरामी निको भएर घर फर्किएका छन् ।

त्यस्तै कञ्चनपुरबाट ६ जना र बैतडीबाट ४ जना गरी ९० जना बिरामी घर फर्किएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए । निको हुनेका संख्या बढेपछि अस्पतालमा बेड अभावको समस्या पनि तत्काललाई टरेको उनले बताए । अहिले प्रदेश भरीका अस्पतालमा ६९ जना कोभिडका बिरामी मात्रै उपचाररत रहेको उनले बताए ।

बिरामीले भरिभराउ भएको धनगढीको कोरोना अस्पतालमा पनि ३४ जना बिरामी मात्रै छन् । त्यस्तै टिकापुरमा १६, महाकालीमा ३, अछाम जिल्ला अस्पतालमा १०, डोटीमा २, डडेलधुरामा ३ र दार्चुला अस्पतालमा १ जना बिरामी उपचाररत रहेको कार्कीले जानकारी दिए ।

उनीहरू मध्ये ६ जनाको आइसियुमा उपचार भइरहेको छ । प्रदेशमा सोमबार ५२ जना नयाँ सङ्क्रमित थपिएका छन् । उनीहरुमध्ये कैलालीका ४१, कञ्चनपुरका ३, डडेलधुराका ७, दार्चुलाका १ र डोटीका ३ जना रहेका छन् । हालसम्म यो प्रेदेशमा १० हजार ८ सय १७ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनिहरुमध्ये ९ हजार ४७ जना निको भइसके । प्रदेशमा अब १७ सय ३४ जना सक्रिय संक्रमित छन् ।