अत्तरिया–चमेलिया प्रसारण लाइनको मुआब्जा अब पनि नलिए पछि नपाउने
मुआब्जा लिन अन्तिम पटक सूचना
2020/11/24, 2:06
 
chameliya

चमेलिया–अत्तरिया १३२ केभी प्रसारणलाइन आयोजनाको मुआब्जा लिन अन्तिम पटक सूचना प्रकाशित गरिएको छ। अहिले पनि सम्बन्धित जग्गाधनीले मुआब्जा दाबी नगरे पछि नपाउने आयोजनाले जनाएको छ। दार्चुलामा निर्माण सम्पन्न भएको ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाका लागि निर्माण गरिएको उक्त प्रसारणलाइन २०७४ देखि नै सञ्चालनमा आइसकेको छ।

१३१ किलोमिटर लामो उक्त प्रसारणलाइनले दार्चुला, बैतडी, डोटी, डडेलधुरा र कैलाली गरि ५ जिल्लाका भू भाग समेटेको छ। प्रसारणलाइन निर्माण गर्दै जाँदा टावर राख्ने जग्गाको मुआब्जा सबैले बुझे पनि राइट अव वे (लाइनको तारले ओगट्ने क्षेत्र) को मुआब्जा लिन भने अझै पनि ठूलो संख्यामा बाँकी रहेका छन्।

आयोजनाले यतिबेला अन्तिम पटक सूचना प्रकाशित गर्दै अहिले मुआब्जा लिन नआए उक्त रकम जग्गाधनीले पछि नपाउने जनाएको छ। जग्गाधनीले नलिएको मुआब्जा रकम आयोजनाले नेपाल सरकारको राजस्व खातामा फिर्ता पठाउने पनि स्पष्ट पारेको छ। जग्गाधनीले आफ्नो जग्गाको हकभोग खुल्ने कागजपत्रसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा चमेलिया जलविद्युत आयोजनाको कार्यालय बलाच दार्चुलामा सम्पर्क गर्न आग्रह गरेको छ। 

आयोजनाले जगग्गाधनीले नियम अनुसार पाउनुपर्ने हकभोग गरिरहेको जग्गा, जग्गामा रहेका बोटबिरुवा र अन्य भौतिक संरचनाको समेत मुआब्जा दिने छ। पाँच जिल्लाका हजारौंले अहिलेसम्म पनि मुआब्जा नलिएकाले अन्तिम पटक प्रकाशित गरिएको आयोजनाका प्रमुख प्रदीप सिंहले बताए।