घाईते भन्छन्– ‘जीप स्पिडमा थियो, खसेको पत्तै भएन’
बैतडीमा जिप दुर्घटनाः ५ जनाको मृत्यु, ४ घाईते
2020/11/24, 7:01
 
accidnet

बैतडीको दशरथचन्द नगरपालिका– १० बुड्डामा मंगलबार दिउँसो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दिउँसो साढे १ बजेतिर ना १ ज २१९६ नम्बरको जीप सडकबाट एक सय मिटर तल खस्दा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा परि बैतडीको दशरथचन्द नगरपालिका ५ बस्कोटकी पार्वती चन्द , पाटन नगरपालिका ५ की पार्वतीदेवी चन्द , पाटन नगरपालिका ५का भगिरथ पाण्डेय, दशरथचन्द नगरपालिका २ देहिमाडौंका कृष्ण लावड र सुनर्या गाउँपालिका ४ की कलावती चन्दको मृत्यु भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

मृतक र घाइतेहरु सबै भारतीय बजार झुलाघाटबाट पेन्सन बुझेर फर्कदै थिए । मृतक कृष्ण लावड ५८ वर्षका छन् भने अन्य सबै ७० वर्षमाथिका रहेका प्रहरी डीएसपी अधिकारीले बताए । घाईतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको उनले बताए । ११ जना सवार जीपमा रहेका २ जना यात्रु भने सकुशल छन् । जिप चालक गोपाल कार्कीको अवस्था गम्भीर भएपछि थप उपचारका लागि धनगढी पठाइएको डीएसपी अधिकारीले बताए ।

‘जीप स्पिडमा थियो, खसेको पत्तै भएन’
मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु बैतडीको झुलाघाटमा भएको जीप दुर्घटना साँघुरो सडक र तिव्र गतिका कारण भएको घाईतेहरूले बताएका छन् । सो जीप दुर्घटनामा पर्दा पाँच जनाको मृत्यु भएको छ । मृतक पाँचै जना भारतबाट पेन्सन बुझेर घर फर्किदै थिए । साथमा रहेका परिवारका पाँच जना सदस्य घाईते भएका छन् । मंगलबार डेढ बजे झुलाघटबाट बैतडी सदरमुकाम आउँदै गरेको ना १ ज २१९६ नम्बर जीप बुड्डाको झाल नजिक दुर्घटना भएको हो ।

जीप सडकबाट दुई सय ५० मिटर तल खसेको छ । जीपमा चालक सहित १० जना सवारी रहेको प्रहरीले जानकारी दिएको छ । पेन्सन लिन आमा र ठूली आमासँगै भारत गएका दशरथचन्द नगरपालिका–५ बस्कोटमा रविन्द्र चन्दले आमा र ठूली आमा गुमाएका छन् । जीपको गति तिव्र रहेको घाईते उनले बताए । साँघुरो सडक र तीव्र गतिका कारण बैतडीमा पटक पटक कहालीलाग्दा दुर्घटना हुने गरेका छन् । कात्तिक २७ गते राति बैतडीको खोड्पेमा बस दुर्घटनामा परेर नौ जनाको ज्यान गएको थियो भने ३४ जना घाईते भएका थिए ।