नेपाल-भारत जोड्ने सीमा नाका हप्तामा २ दिन खोल्न प्रस्ताव
2020/11/25, 9:05
 
sima

कोरोना भाइरस(कोभिड–१९)  कारण गत चैत ११ गतदेखि बन्द रहेको नेपाल–भारत सीमा नाका हप्तामा २ दिन खोल्न प्रस्ताव गरिएको छ।  दार्चुलास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल हप्तामा २ दिन खोल्न प्रस्ताव गरिएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए। 

मंगलबार बसेको सर्वपक्षीय बैठकले नेपाली मजदुर र विद्यार्थीहरु मर्कामा परेको भन्दै हप्तामा २ दिन नाका खोल्न प्रस्ताव गर्ने निर्णय गरिएको प्रजिअ पोखरेलले बताए। सोही निर्णय अनुसार बुधबार र शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म नाका खुलाउने प्रस्ताव भारतीय पक्षलाई गरिने स्थानीय प्रशासनले जनाएको छ। 

अहिले सीमानाकामा अवस्थित पुल निश्चित समयमा नखुल्दा यहाँका स्थानीयलाई बिहेबारी, औषधी उपचार, विद्यार्थीको पठन पाठन, रोजगारी लगायतका दैनिक जनजीवनमा समस्या भएको छ। सोही कुरालाई ध्यानमा राखेर सो निर्णय गरिएको भएपनि अत्यावश्यक बाहेक जथाभावी आवगमन नगराउने तथा न्यूनतम सुरक्षा मापदण्डमा भने कडाई गरिनेछ। 

प्रजिअ पोखरेलको अध्यक्षतामा बसेको बैठकमा सुदूरपश्चिम प्रदेश सभा सदस्य मानबहादुर धामी, गेल्बुसिह बोहरा लगायत स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाको सहभागिता रहेको थियो।