बैतडीको दशरथचन्द नगरपालिका–२ का ५८ वर्षीय कृष्णलाल लावड २२ वर्षीय छोरा प्रदीपलाई लिएर तलब बुझ्न झुलाघाट पुगेका थिए । भारतको मुम्बई स्थित एक कम्पनीमा काम गर्ने लावड कोरोना भाइरसको कहरका कारण चैतमा सपरिवार घर फर्किएका थिए । बल्ल नाका खुलेपछि भारत गएर बाँकी तलब त बुझे तर त्यसको खुसी उनले परिवारसँग साट्न पाएनन् ।
झुलाघाटबाट गोठलापानीतर्फ आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द–१०ब ुड्डामा मंगलबार दिउँसो दुर्घटना हुँदा लावड सहित पाँच जनाको ज्यान गएको छ । लावडका छोरा सहित पाँच जना घाइते भएका छन् । ‘बुवा छोरा झुलाघाट गएका थिए । पैसा बुझेर घर नपुग्दै उनीहरूको खुसी सदाका लागि लुटियो’, आफन्त भगीरथ लावडले भने, ‘जिप दुर्घटनाले परिवारको खुसी लुटेको छ । गाउँमा सन्नाटा छाएको छ ।’
अन्य मृतकमा सुर्नया गाउँपालिका–४ की ७५ वर्षीया कलावती चन्द, पाटन नगरपालिका—५ का ७७ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका—५ बस्कोटका ७२ वर्षीया पार्वती चन्द र ७० वर्षीया पार्वतीदेवी चन्द रहेको जिल्ला प्रहरी प्रवक्ता जनकबहादुर धामीले बताए । बस्कोटकी बिस्ना चन्दका अनुसार मृतक पार्वतीद्वय देवरानी जेठानी हुन् । ‘देवरानी जेठानीको ज्यान गएको छ । गाउँ नै शोकमग्न भएको छ’, चन्दले भनिन्– ‘लामो समयपछि पेन्सन बुझ्न गएकाहरूको खुसी बाटोमै लुटिएको छ । साथमा गएका पनि घाइते भएका छन् ।
गाउँमा रुवावासी चलेको छ । पैसा बुझेको खुसी साट्न नपाउँदै घरका ज्येष्ठ नागरिक अस्ताएपछि घरपरिवारमा निकै सन्नाटा छाएको छ ।’
भारतीय गोर्खा सैनिक र उनीहरूका परिवार झुलाघाटबाट पेन्सन बुझेर घर फर्किंदै गरेका थिए । नेपाल–भारत झुलाघाट नाका सोमबारदेखि शुक्रबारसम्मका लागि खुला गरिएको छ । घाईतेमध्ये चार जनाको उपचार जिल्ला अस्पतालमा भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको जिल्ला अस्पतालका प्रमुख डा। वसन्तराज जोशीले जानकारी दिए । जिप चालक गोपाल कार्कीको टाउकोमा चोट लागेकाले उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ ।
यसअघि कात्तिक २७ गते राति भएको दुर्घटनामा नौ जनाको ज्यान गएको थियो । ‘जिल्लामा पछिल्लो समय भइरहेका सडक दुर्घटनाले हामीलाई पनि गम्भीर बनाएको छ । चालकहरूको लापरवाहीले पनि केही घटना भइरहेका छन् भने केही सवारी साधनमा हुने प्राविधिक कारणले भइरहेका छन ।’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले भने, ‘सडक दुर्घटनाका कारण जिल्लामा एक महिना नहुँदै १५ जनाको ज्यान गइसकेको छ । हामीले यसलाई गम्भीरताका साथ लिएका छौं । चालकहरूलाई सडक दुर्घटना न्यूनीकरणका विषयमा प्रशिक्षणको तयारी गरेका छौं ।’