शुक्लाफाँटामा आधुनिक सडक निर्माण सुरु
2020/11/25, 12:05
 
corona

एशियाली विकास बैंक ९एडिबी० को सहुलियत ऋण सहयोगमा क्षेत्रीय सहरी विकास अयोजनाअन्तर्गत शुक्लाफाँटा नगरपालिकामा आधुनिक सडक निर्माण अगाडि बढाइएको छ। आयोजनाअन्तर्गत रु २७ करोड ८७ लाख ८७ हजार ५६१ को लागतमा ठेक्का प्रक्रियामार्फत् तीनवटा सडक निर्माण हुन लागेको हो। सडक निर्माणका लागि रमन केएस जेभीसँग ठेक्का सम्झौता गरिएको छ। ठेक्का सम्झौता भएको पाँच महिनापछि सडक निर्माण हुन लागेको हो।

आयोजनाअन्तर्गत पिपलाडी क्षेत्रमा एक दशमलव चार किलोमिटर, झलारीको शान्तिपथबाट टोटीसम्म तीन किलोमिटर र झलारीकै सिसैया जाने सडक ३७० मिटर निर्माण गरिन लागेको ठेकेदार कम्पनीका इञ्जीनियर अमरसिंह ऐरले बताए। उनका अनुसार सडक निर्माणका लागि पहिलो चरणमा सडकको ‘साइट क्लिनिङ’को काम सुरु गरिएको छ।

‘सडकको दायाँबायाँ क्षेत्रमा रहेको झाडी, सडक किनारामा थुपारिएका सामग्री हटाउन सुरु गरेका छौँ’, इञ्जीनियर ऐरले भने, ‘झाडी सफाइको कामपश्चात नाली निर्माण गर्ने, खोला क्षेत्रमा ग्याविन जाली राख्ने, कल्भर्ट निर्माण गर्नेलगायतका काम हुनेछन् ।’

‘साइट क्लिनिङ’को काम सकिएपछि सडक क्षेत्रमा पर्ने दायाँबायाँका भौतिक संरचना हटाउने कार्यसँगै सडक कालोपत्रे गरिनेछ। नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले आयोजनाअन्तर्गत पर्ने सडकको दायाँबायाँ पर्ने भौतिक संरचना हटाउनका लागि सम्बन्धित व्यक्तिसँग छलफल गरिने बताए। 

‘पहिलो चरणको छलफल गरेका छौँ, त्यसपछि सडकको नक्साङ्कनको कार्यसमेत गरिएको छ’, उनले भने, ‘दोस्रो चरणको छलफलपछि सडकका संरचना हटाई सडक निर्माण कार्यलाई पूरा गर्छौँ ।’ नगरकै गौरवको योजनाअन्तर्गत निर्माण भइरहेको आधुनिक शैलीको सडक निर्माणमा सहयोग गर्नसमेत उनले नगरवासीलाई आह्वान गरेका छन्।

सडक निर्माणको काम ठेक्का सम्झौता भएको २० महिनाभित्र पूरा गर्नुपर्ने प्रावधान राखिएको छ । सडक निर्माणका लागि ठेक्का सम्झौता गत असार १९ गते भएको हो ।रासस