छोराको बिहे गर्न नपाई अस्ताए आमा र सानी आमा
दुलहा अस्पतालको शैय्यामा 
2020/11/25, 2:19
 
accidnet

बैतडीको दशरथ चन्द नगरपालिका ५ बसकोटका रविन्द्र चन्दको मंसीर १२ गते विहेको तयारी धुमधामसँग चलिरहेको थियो । बिहेमा आउनलाई सबैलाई निम्ता पनि दिई सकिएको थियो । घरमा बिहेको लागि आवश्यक सामानहरुको जोहो पनि भईरहेको थियो । नजिकैका आफन्तहरु पनि विहेको तयारीमा सघाईरहेका थिए । रविन्द्रकी आमा पार्वती र सानी आमाको नाम पनि पार्वती कम्ता खुशी थिएनन् छोराको बिहे भनेर ।

घरमा बुहारी भित्र्याउन आतुर थिए उनीहरु । उनकी आमा र सानी आमाको नाम एउटै भए पनि दुबै बीचमा दुई बर्षको अन्तर थियो । एकको उमेर ७० बर्ष अर्कोको उमेर ७२ बर्ष । उनीहरु दुबैका श्रीमान भारतीय सेनामा जागीरे थियो । उनीहरु दुबै जनाको केही बर्ष अगाडी नै मृत्यु भईसकेको थियो । 

बिहे हुन लागेका रविन्द्रका बुवा हर्क चन्द र उनका सहोदर भाई जीतबहादुर चन्दले भारतीय सेनाबाट पाउने पेन्सन उनीहरुका श्रीमतिले बुझ्दै आएका थिए । कोरोनाका कारण नेपाल भारतको सीमा नाका बन्द गरिएका कारण भारतीय सेनाहरुमा रहेकाहरुले पाउने पेन्सन पनि नेपालीहरुले बुझ्न पाएका थिएनन् । त्यही पेन्सनले कतिपयको घर गृहस्थी चल्दै आएको थियो । पेन्सनधारीलाई समस्या परेपछि बैतडीको झुलाघाट नाका पाँच दिनका लागि खुल्ने निर्णय भयो ।

नेपाल–भारत नाका बन्द हुँदा पेन्सन नपाएपछि मन्त्री परिषदको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय, बैतडी र जिल्लाधिकारीको कार्यालय, पिथौरागढले पाँच दिनका लागि नाका खोल्ने सहमति गरेपछि सोमबारदेखि मंसीर १२ गतेसम्म नाका खुल्ने खबर देउरानी जेठानीले पनि पाए । मंसीर १२ गते छोरा रविन्द्रको बिहेको तयारी भईरहेकै बेला उनीहरु दुबैले पाउदै आएको पेन्सनले बिहेमा अझ सहज हुने सल्लाह गर्दै दुबै पार्वतीहरु नाका खुलेकै दिन सोमबार झुलाघाट गए ।

साथमा छोरा रविन्द्र पनि सँगै गए । पेन्सन लिनका लागि आवश्यक कागजात सहित झुलाघाट स्थित एसबिआई बैंकबाट दुबै जनाले चार चार महिनाको पेन्सन बापतको रकम बुझे । उनीहरुले गएको असार २८ गते यसभन्दा अघि पेन्सन बुझेका थिए । दुबै जनाले गरी चार महिनाको एक लाख ६० हजारभन्दा बढी भारतीय रुपैयाँ पेन्सन बापत बुझेका थिए । 

बैतडीबाट महाकाली नदी पारी रहेको भारतको झुलाघाटबाट सोमबार फर्किन ढिलो भयो । बिहेको लागि चाहिने केही सामानहरु किन्दै सोमबार राति उनीहरु भारतमै बसे । पेन्सन बुझेर बिहेका लागि चाहिने सामान किनेर उनीहरु घरतिर आए । तर तीनै जनाले घर पुग्न पाएनन् । आमा र सानी आमा सधैंका लागि अस्ताए । दुलहा बन्ने तयारीमा रहेका रविन्द्र घाईते बनेर अस्पतालमा भर्ना भए ।

मंगलबार छोराको बिहेमा रमाउने देउरानी जेठानीको रहर अधुरै रह्यो । दुलहीलाई घरको ढोकामा दियो फुटाएर घरभित्र प्रवेश गराउने ईच्छा ईच्छामै सिमित भयो । चन्द देउरानी जेठानी मंगलबार जीप दुर्घटनामा परी सधैंका लागि अस्ताए । मंगलबार झुलाघाटबाट गोठलापानी फर्किँदै गरेको जीप सडकबाट अचानक करिब २ सय ५० मिटर तल पल्टिएर दुर्घटनामा पर्यो ।

दुबै पार्वती सहित पाँच जनाको घटनास्थलमै मृत्यु भयो । आमा र सानी आमाले छेउमै संसार छोड्दा रविन्द्र अस्पतालको शैय्यामा आँसु बगाईरहेका छन् । उनी स्वयम भावह्लिल बनेका छन् । आफैलाई सम्हाल्न सकेका छैनन् ।