बैतडीको पुर्चौडी नगरपालिका–६ भुमिराजको कुवाकोट–सुुईलेक भीरमा १४ वटा गाई फाल्नेले लात्तीले हानेर भीरबाट धकेलेको बयान दिएका छन् । गौहत्यामा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेका बैतडीको पुर्चौडी नगरपालिकाका लक्ष्मण पार्कीले गाईहरुलाई भीरमा फालेको बयान दिएका हुन् ।
रातीको समयमा भीरबाट गाईहरुलाई पालैपालो फालेको भनेर बयान दिएको बैतडी जिल्ला प्रहरी कार्यलयका डिएसपी नारायणप्रसाद अधिकारीले बताए । लक्ष्मण पार्कीले पाटन नगरपालिकाबाट २९ वटा गाई बेच्न लैजाने भनेर लगेकोमा १५ वटा गाई लाई बेचेको र बाँकी १४ वटा गाईलाई पाटन नगरपालिकाको टिप्परले ढोल्यामोडसम्म लगेर राति भएप्छि भीरबाट फालेको पार्कीले बयान दिएका छन् ।
पार्कीलाई गौहत्याको मुद्धा चलाउने प्रक्रिया अगाडी बढाईएको डिएसपी अधिकारीले बताए । प्रहरीका अनुसार फरार रहेका अर्का सहयोगी सुरेश पार्कीको खोजी भईरहेको छ ।