‘कैलालीका पत्रकारले बार्गेनिङ गर्दै असुल गरेको रकम फिर्ता गरे’ (अडियो सहित)
2020/11/25, 5:04
 
bargening

कैलालीका दुई पत्रकारले ‘बार्गेनिङ’ गर्दै असुल गरेको रकम फिर्ता गरेका छन् । नाईस टेलिभिजनका सुदूरपश्चिम ब्युरो प्रमुख हिमेश विक र नाईस टेलिभिजनमै आबद्ध गोविन्द विसीले ‘बार्गेनिङ’ गरेर असुल गरेको रकम फिर्ता गरेका हुन । उनीहरुले कैलालीको गौरीगंगा नगरपालिका–१ स्थित श्रीवास्तव मेडिकल हलका सञ्चालकबाट असुल गरेको रकम फिर्ता गरेका छन् । 

‘धम्क्याएर बार्गेनिङ गर्दै पैसा असुल्ने कैलालीका दुई पत्रकारको अडियो बाहिरिएको विषयमा खबरकुञ्जमा समाचार प्रकाशन भएपछि उनीहरुले रकम फिर्ता गरेका हुन । मेडिकल सञ्चालक कमलेश सक्सेनाकी श्रीमती लिला सुनारबाट असुल गरेको २५ हजार, खाजा खाएको दुई हजार र थप एक हजार गरी २८ हजार रुपैयाँ फिर्ता गरिएको छ । 

सक्सेनाले आफुबाट विक र बिसीले असुल गरेको रकम फिर्ता गरेको बताएका छन् । असुल गरेको रकम फिर्ता दिएर आफुहरुले गल्ती गरेको भन्दै माफी मागेको उनले बताए । असुल गरिएको रकम नेपाली काग्रेंस कैलाली जिल्ला कार्य समिति कैलालीका सदस्य लक्ष्मी देवकोटा मार्फत फिर्ता गरिएको हो । देवकोटाले विक र विसीलाई रकम फिर्ता दिनका लागि फोन समेत गरेका थिए ।

उनीहरुले सुरुमा दुई लाखमा ‘बार्गेनिङ’ गरेको र पछि एक लाख रुपैयाँ दिनुपर्ने भन्दै मेडिकल सञ्चालकलाई धम्की दिदै आएका थिए । मेडिकल सञ्चालक सक्सेनाबाट थप ७५ हजार असुल्न धम्की दिएको टेलिफोन संवाद बाहिरिएको थियो । यस्तै बिक र बिसीले अन्य ठगी र ‘बार्गेनिङ’ गरेका घटनाहरु बहिरिएका छन् ।

उनीहरुले समाचार प्रकाशन गरिदिने भन्दै धम्काउने, पैसा नभएको चेक दिने, उधारो खाएर भाग्ने, विभिन्न बहाना बनाएर ठगी गर्ने जस्ता घटनाहरु बाहिरिएका हुन् । केही समय आर्थिक दैनिकमा कार्यरत पत्रकार बिक यस्तै ‘बार्गेनिङ’ का घट्नाहरु बहिरिएपछि निष्कासनमा परेका थिए । यतिबेला भने आर्थिक ‘बार्गेनिङ’ र ठगी गरेका घटनाहरु एकपछि अर्को गर्दै बाहिरिएपछि समग्र पत्रकारिता जगत नै बद्नामित भएको भन्दै सञ्चारकर्मीहरुले पत्रकार बिकलाई कारबाहीको माग गर्दै सामाजिक सञ्जाल रंगाएका थिए ।