धनगढी उप–महानगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको बुधवार एक कार्यक्रमका बिच उद्घाटन गरेको छ ।
उप–महानगरपालिका नगर प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको ब्यानर खोलेर उद्घाटन गरेका थिए । सोही अवसरमा कार्यक्रममा सहभागि जनप्रतिनिधी, कर्मचारी र अन्य सहभागिहरुलाई सेतो रिवनको लैङ्गिक हिंसा विरुद्धको लागो पहिराईएको थियो ।
अभियानको उद्घाटनमा बोल्दै धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले यस वर्ष कोभिड १९ को महामारीका कारण भिड जम्मा गरेर कार्यक्रम सञ्चालन गर्न सम्भव नभए पनि प्रविधिको माध्यमबाट आ–आफ्नो स्थानबाट सुरक्षित रहँदै कार्यक्रम गरेर १६ दिने अभियानलाई सार्थक बनाउन अनुरोध गरे ।
लैङ्गिक हिंसाको अन्त्य एउटा पक्षको सहभागिताबाट मात्रै सम्भव हुदैन नगरप्रमुख वडले भने, ‘ त्यसका लागि तीनै पक्ष संगसंगै जानुपर्छ ।’ सुदूरपश्चिम प्रदेशमा शिक्षा, चेतना र गरिवीका कारण महिलामाथी बढी हिंसा हुने गरेको नगरप्रमुख वडले बताए । पछिल्लो समय महिलाको जस्तै हिंसा पिडित पुरुष समेत भेटिन थालेका छन् नगरप्रमुख वडले भने, ‘ यस अभियानको अर्थ लिङ्गका आधारमा कसैमाथी पनि हिंसा हुनुहुदैन भन्ने हो । नगरप्रमुख वडले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सफलताको शुभकामना दिए ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले विश्वव्यापी रुपमा सन् १९९१ देखि प्रत्येक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिकसम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको रूपमा मनाउँदै आइएको बताईन । यस बर्ष ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति समाज र सबैको ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि मनाइँदै छ उप–प्रमुख भट्टले भनिन्, ‘यसको अर्थ लिङ्गका आधारमा गरिने हिंसा न्यूनिकरण मात्रै होईन निवारण नै गरेर जानुपर्छ भन्ने हो ।’
धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्तले लैङ्गिक हिंसाको कारण हाम्रो समाजमा रहेको गलत संस्कार, अन्धविश्वास, मुल्य मान्यता, परंपरा रहेको बताए । उनले भने, ‘यसका लागि सचेतना आवश्यक छ ।’ यसैक्रममा उप–महानगरपालिकाका महिला जनप्रतिनिधीहरुलाई लैङ्गिक हिंसा न्यूनिकरणका लागि सकारात्मक सोच सम्वन्धी तालिम समेत आयोजना गरिएको छ ।