सेती लोकमार्गमा सडक संरचना निर्माणका लागि रुख काट्न अनुमति
९ हजार ६ सय ८६ रुख कटानका लागि आदेश
2020/11/26, 11:19
 
setim lokmarg

सेती लोकमार्ग अन्तरगत दक्षिणी खण्डमा निर्माण हुने सडक क्षेत्रमा पर्ने रुख काट्नका लागि सरकारले अनुमति दिएको छ । कैलालीको बर्दगोरिया र मोहन्याल गाउँपालिकामा रहेको राष्ट्रिय वन क्षेत्र सेती लोकमार्गको सडक संरचना निर्माणका लागि प्रयोग गर्न दिने निर्णय गर्दै संघीय मन्त्री परिषद्को बैठकले रुख कटानका लागि समेत अनुमति दिएको हो । 

2

गत कार्तिक २० गते बसेको मन्त्री परिषद्को बैठकले सडक निर्माण गर्न वन क्षेत्र प्रयोग गर्न दिने र त्यहाँ रहेका रुख हटाउन अनुमतिका लागि स्वीकृति प्रदान गरेको थियो । सोही बमोजिम वन तथा वातावरण मन्त्रालयले सडक क्षेत्रमा पर्ने ९ हजार ६ सय ८६ रुख कटानका लागि आदेश दिएको छ । मन्त्रालयले डिभिजन वन कार्यालय कैलालीलाई परिपत्र गर्दै वन विभाग र सडक विभागबीच सो विषयमा भएको सम्झौता पत्र समेत डिभिजन वन कार्यालयलाई पठाएको छ । 

1

वन मन्त्रालयको आदेशपछि सेती लोकमार्गको दक्षिणी क्षेत्रमा निर्माण हुने सडकखण्डको अवरोध हट्ने भएको छ । रुख कटान अनुमति नपाएकै कारण प्रभावित भएको कामले गति लिने अपेक्षा गरिएको छ । यसअघि रुख कटानी आदेश नपाएकै कारण सेती लोकमार्ग निर्माणका लागि विनियोजन हुने बजेट वर्षेनी फ्रिज जाने समस्या थियो ।

प्रतिनिधि सभा सदस्य झपटबहादुर रावलले मन्त्री परिषद्ले रुख कटानीका लागि आदेश दिएसँगै सेती लोकमार्ग निर्माणको काम सुरु हुने बताए । उनले निरन्तरको प्रयास र लामो संघर्षपछि रुख कटानीको आदेश पाएको बताए ।