भारत जाने यात्रुलाई बीचमै छाडियो !
2020/11/26, 6:21
 
sadak

गौरीगंगा नगरपालिका–८, लिक्मा गाउँका पूर्णबहादुर साउँद गत ५ गते धनगढीबाट भारतको बैंङ्गलोर जान हिँडे। धनगढी बसपार्कस्थित न्यू अछाम नेशनल गेष्ट हाउसमा सम्पर्क कार्यालय रहेको बर्दादेवी टूर एण्ड ट्राभल्स प्रा.लि.बाट टिकट लिएर भारत गएका उनलाई दुई दिन बीच बाटोमै अलपत्र छाडियो। उनीसँगै बैंङ्गालेर, मुम्बई र रत्नागिरी हिँडेका ६५ जना बीचबाटोमै अलपत्र परे। उनीहरुलाई ट्रभल्स एजेन्सीले भारतको पुनास्थित बाउदानमा अलपत्र छोडेर एजेन्सीका सम्पर्क व्यक्ति फरार भए। ट्राभल्स एजेन्सीले बाटोमै अलपत्र छाडेपछि साउँदसँगै बैंङ्गलोर जाने ३३ जना ४२ घण्टापछि पुनः टिकट काटेर गन्तव्यमा हिँडे।

धनगढीबाट सिधै बैंङ्गलोर पु¥याउँछु भनेर टिकट कटाएको बर्दादेवी टूर एण्ड ट्राभल्स एजेन्सीले बीचबाटोमै अलपत्र छोडेको बताउँदै साउँदले भने, ‘भएभरका सबै रुपैयाँ बीच बाटोमै खाना खाए, खाजा खाएर सकियो, अनि पुनः आफन्तसँग पैसा सापटी मागेर साथीभाइहरु अर्को गाडीमार्फत् बैंङ्लोर पुग्यौँ।’ उनले धनगढीस्थित ट्राभल्स एजेन्सीलाई आफूले पुनाबाट बैंङ्गलोरसम्मको पाउनुपर्ने १५ सय भारतीय रुपैयाँ समेत नदिएको बताउँदै उनले भने, ‘हामीले धनगढीदेखि बैंङ्गलोरसम्मको गाडीभाडा काटेका थियौँ, पुनामै अलपत्र छाडेपछि पुनाबाट बैंङ्गलोरसम्मको भाडा त दिनुपथ्र्यो, त्यो पनि लुटियो।’  

उनले ३३ जनाको आफूहरुको समूहले एजेन्सीमार्फत् फिर्ता पाउनुपर्ने ४९ हजार ५ सय भारतीय रुपैयाँ तुरुन्तै पाउनुपर्ने बताए। ‘हामीले पुनाबाट धनगढीस्थित बर्दादेवी ट्राभल्स एजेन्सीका सञ्चालकलाई पैसा फिर्ता गरिदिन आग्रह गरेका थियौँ,’ उनले भने,‘एजेन्सीका सञ्चालकले पनि तुरुन्तै पैसा पठाइदिने आश्वासन दिए पनि अहिलेसम्म सम्पर्कमा छैनन्।’  

उनीमात्रै हैनन् पछिल्लो समय बर्दादेवी टूर एण्ड ट्राभल्सबाट टिकट काटेर भारतका विभिन्न सहर हिँडेका नेपालीहरु बीच बाटोमै अलपत्र परेका छन्। यस्तै सोही ट्राभल्सले धनगढीबाट बैंङ्लोरका लागि पठाइएका २३ जना यात्रुलाई भारतको पलियास्थित भीरामा अलपत्र छाडिएको थियो।  गत आइतबार बेलुकी धनगढीबाट बैंङ्गलोरका लागि गएका यात्रुहरुलाई भातरको पलियानजिकै ७ किलोमिटर दक्षिण भीराको एक होटलमा लगेर बन्दक बनाइएको थियो। उनीहरुलाई कुटपिट गर्न थालिएपछि पलियाबाट ज्यान जोगाइ सोमबार राति ९ बजे धनगढी बसपार्कस्थित न्यू अछाम नेशनल गेष्ट हाउसमै २३ जना यात्रु फर्किएका थिए। 

उनीहरुले मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीमा गएर आफूहरुको पैसा असुल गरिदिन माग गरेपछि प्रहरीले ट्राभल्स एजेन्सीलाई पैसा फिर्ता गर्न निर्देशन दिएको थियो। ‘ट्राभल्स एजेन्सी र यात्रुबीच पैसा फिर्ता लिने सहमति भएको थियो,’ जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी तथा सूचना अधिकारी प्रतीक बिष्टले भने,‘ठगिएका यात्रुलाई उजुरी हाल्नुस् भनेका थियौं, तर उनीहरुले उजुरी नदिएपछि एजेन्सीलाई बोलाएर पैसा फिर्ता गर्न लगायौँं।’

बर्दादेवी टूर एण्ड ट्राभल्स प्रा.लि.का सञ्चालक लोकबहादुर साउँदले भारतमा अलपत्र परेका यात्रुहरु आफूहरुको ट्राभल्स एजेन्सीबाट गएको स्वीकार्दै भने,‘अबदेखि त्यस्तो गल्ती हामीबाट हुँदैन।’ अलपत्र परेका यात्रुहरुको सबै पैसा पनि तुरुन्तै फिर्ता गर्ने बताए।