बैतडीमा युवतीमाथि जबरजस्तीकरणी गर्ने युवक सहित मिलापत्र गराउने ४ जना विरुद्ध जाहेरी दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा पीडित युवतीले जबरजस्तीकरणी गर्ने युवक सहित घटना गाउँमै मिलापत्र गराउँने ४ जना विरुद्ध जाहेरी दर्ता गराएकी हुन् । बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले पीडित युवतीले जबरजस्तीकरणी गर्ने युवक सहित घटना गाउँमै मिलाउँने विरुद्ध जाहेरी दिएको बताए ।
जाहेरी दिए लगत्तै घटना मिलापत्र गर्ने २ जनालाई पक्राउ गरिएको बताउँदै प्रहरी नायब उपरीक्षक अधिकारीले बलात्कारका आरोपी युवक सहितका अन्य २ जना फरार रहेकाले खोजी भइरहेको बताए । बैतडीको सिगास गाउँपालिका वडा नम्बर ३ मा १८ वर्षीया युवतीमाथि गत जेठ २३ गते जबरजस्तीकरणी गरिएको थियो ।
सो घटनालाई गाउँमै मिलापत्र गराउँदै अगुवाहरुले पीडक पक्षले युवतीलाई एक तोला सुन दिने सहमति गरेका थिए । तर पीडकले सुन नदिएपछि घटना बाहिरिएको थियो । बलात्कारमा संलग्न भनिएका स्थानीय दिपकसिह धामी अहिले फरार छन ।