कञ्चनपुरमा महेन्द्रनगरमा मृत भेटिएका युवकको पहिचान खुलेको छ । भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजार स्थित भानु पार्टी प्यालेसको छेउमा मृत अवस्थामा भेटिएका युवक वेदकोट नगरपालिकाका भएको खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले मृतक वेदकोट नगरपालिका–४ को बगुनमा रहेको सुनार टोलका २५ वर्षीय कमल दमाई रहेको जानकारी दिए ।
थापाका अनुसार दमाईँ ज्यालादारी गर्ने भन्दै गत असोजमा घरबाट हिडेका थिए । स्याङ्जा जान्छु भन्दै हिडेका दमाईले बिहीबार बुवालाई फोन गरी घर फर्किरहेको जानकारी गराएको पाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए । घाँटीमा टेलिफोनको तारको पासोले बेरिएको अवस्थामा मृत भेटिएका दमाईँको मृत्युको कारण भने खुलेको छैन ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । अनुसन्धानमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको छ । मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।