आठ महिनादेखि बन्द कैलालीको पर्यटकीय गन्तव्य टीकापुर पार्क खुला
2020/12/05, 11:08
 
tikapur

कोरोना भाइरसको संक्रमणका कारण आठ महिनादेखि बन्द कैलालीकै मुख्य पर्यटकीय गन्तव्यको रूपमा रहेको टीकापुर पार्क खुला गरिएको छ । आन्तरिक पर्यटकका लागि महत्वपूर्ण मानिने टीकापुर पार्कमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकले पार्कको अवलोकन गर्दै आएको तथ्यांक नगरपालिकासँग छ । लामो समयदेखि टीकापुर पार्क खुल्ला गर्नुपर्ने आवाज उठ्दै आए पनि नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पार्क खुल्ला गरिएको बताइएको छ । 

नयाँ वर्ष र दसैँ-तिहारको समयमा पार्क अवलोकनमा आउनेको घुइँचो लाग्ने गरेको भए पनि यो वर्ष सो अवधिमा पार्क सुनसान रह्यो । नगरपालिकाको वार्षिक ५० लाख रुपैयाँ आम्दानी हुने पार्कबाट गत वर्ष २० लाख पनि आम्दानी हुन सकेन । झनै यस वर्ष त त्यति पनि आम्दानी हुने अवस्थामा नदेखिएको पार्कमा कार्यरत विनोद चौधरी बताउँछन् । नयाँ वर्ष र दशैँतिहारको समयमा मात्रै पार्कले २० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेको छ ।   

अन्य वर्षजस्तै पार्कमा आउने पर्यटकलाई यस वर्ष पार्क बन्द रहेको जानकारी नभएकाले पार्क पुग्दै फर्कदै गरेँ । बन्दाबन्दी खुलेसँगै टीकापुर पार्कमा पर्यटकको आगमन शुरु भए पनि पार्कको मूल ढोका बन्द हुँदा त्यहीबाट पर्यटक फर्कने गरेका थिए । दाङ, सुर्खेत, नेपालगञ्ज, बर्दिया, कञ्चनपुरलगायतका क्षेत्रबाट अवलोकनका लागि आएका पर्यटक पार्क अवलोकन नगरी फर्किएको चौधरीले बताए । 

स्वास्थ्यका सबै मापदण्ड पालना गर्न लगाई टीकापुर पार्क अवलोकनका लागि खुल्ला गरिएको कुरा टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद शर्माले बताए । ‘पार्क मात्र खुला गरेका छौँ,’ प्रमुख प्रशासकीय अधिकृत अर्यालले भने, ‘वनभोजजस्ता कार्यक्रममा भने रोक लगाएको छ तर सञ्चालनका लागि छलफल भइरहेको छ ।’

नगरपालिकाले अवलोकनकर्ताले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, सम्बन्धित स्थानमा राखिएको साबुनपानीले हात धुनु पर्ने, पार्कभित्र रहेका जुनसुकै बोटबिरुवा वा रेलिङमा छुन नपाइने जथाभावी फोहर गर्न नपाइने, फोहरलाई सम्बन्धित स्थलमा व्यवस्थापन गर्नुपर्ने, प्रति समूहमा बढीमा २५ जनाभन्दा बढीको संख्यामा प्रवेश गर्न नपाइने र एक अर्काबीच भौतिक दूरी कायम गर्नेजस्ता शर्त तोकिएका पार्कका कर्मचारी चौधरीले बताए ।  पार्क खुल्दा त्यस क्षेत्रका व्यवसायी पनि खुसी भएका छन् । पार्क छेउमा होटेल व्यवसाय गर्दै आएका अर्का रेष्टुराँका सञ्चालन रवीन्द्र विष्टले व्यवसाय पहिले नै सञ्चालन भए पनि पार्क बन्द हुँदा आफूहरूले व्यवसाय बन्द गरेजस्तै रहेको बताए ।