एक संक्रमितको कन्ट्याक्टमा आएका सात जनालाई कोरोना
2020/12/12, 9:09
 
corona

कैलालीको कैलारी गाउँपालिकामा कन्ट्याक्ट ट्रेसिङमा परेकामध्ये सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । केहि दिन अगाडि वडा नम्बर ५ को पवेरास्थित पवेरा स्वास्थ्य चौकीमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

ती स्वास्थ्यकर्मीको सम्पर्कमा आएका ३८ जनाको स्वाब सेती प्रादेशिक अस्पतालमा परीक्षण गर्दा सात जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जानकारी दिए ।   उनका अनुसार शनिबार संक्रमण पुष्टि हुनेमा पवेरा स्वास्थ्य चौकीमा कार्यरत एक कार्यालय सहयोगी र एक जना स्वीपर रहेका छन् ।

यसैगरी, अरु पाँच जना संक्रमित स्वास्थ्यकर्मीका दाजुभाई र घर आसपासका व्यक्ति रहेका छन् । संक्रमित स्वास्थ्यकर्मीको श्रीमती र छोराछोरीलाई भने कोरोना सङ्क्रमण नभएको सापकोटाले जानकारी दिए । 

यो संगै कैलारी गाउँपालिकामा सक्रिय संक्रमितको संख्या ५६ पुगेको छ । पछिल्लो केही दिनयता सो गाउँपालिकामा संक्रमण बढेको देखिएको छ । वडा नम्बर ९ को कोइलही गाउँमामात्रै ३४ जना संक्रिय संक्रमित रहेका छन् । सो गाउँमा धनगढीबाट फर्केका एक व्यक्तिबाट संक्रमण फैलिएको थियो । कोइलहीमा बढी सक्रिय संक्रमित फेला परेपछि त्यहाँ विद्यालयमा पठनपाठन बन्द रहेको सापकोटाले जानकारी दिए । 

कैलारी गाउँपालिकामा हालसम्म ११९ जनामा कोरोना संक्रमण भएको छ । जसमध्ये ६३ जना निको भइसकेका छन् ।