सुदूरपश्चिम प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले सहकारीलाई उत्पादनमुखी बन्न आग्रह गरेकी छिन् । दाइजो कृषि सहकारी संस्था लिमिटेडको शनिबार वार्षिक साधारण सभा उद्घाटन गर्दै उनले भनिन्–‘सहकारीहरु अब उत्पादनमुखी बन्न जरुरी छ ।’ मन्त्री चौधरीले प्रदेशमा बीउ बिजनको समस्या रहेकाले सहकारीहरुले धान, गहुँ लगायतका अन्नबालीको बिज वृद्धि कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको औंल्याइन ।
बिज वृद्धि कार्यक्रमलाईं प्राथमिकताका साथ अगाडि बढाउनु पर्ने उल्लेख गर्दै उनले यो कार्यका लागि प्रदेश सरकारले अनुदान सहयोग पनि गर्दै आएको बताइन् । मन्त्री चौधरीले यहाँका कृषकलाई उत्पादन बढाउन आधुनिक र व्यवसायीक खेती प्रणाली अपनाउन पनि जोड दिइन् । यसका साथै उनले कृषकलाई सामूहिक र चक्लाबन्दी खेती गरि उत्पादन बढाउनमा जोड दिएकी छिन् ।
मन्त्री चौधरीले सहकारीमार्फत प्रदेशमा आर्थिक समृद्धि ल्याउन सकिने बताएकी छिन् । ‘प्रदेशमा विभिन्न सहकारी संस्था रहेका छन्’, मन्त्री चौधरीले भनिन्, ‘सहकारीले आफ्नो उद्देश्य अनुरुप काम गरेका प्रदेशमा आर्थिक समृद्धि भई सहकारी मार्फत प्रदेश आत्मनिर्भर बन्छ ।’ कार्यक्रममा मन्त्री चौधरीले प्रदेशमा रहेका सहकारीलाई नियमन र व्यवस्थापन गर्न केही चुनौती रहे पनि प्रदेश सरकारले सहकारी नियमन र व्यवस्थापन सम्बन्धी कानून निर्माण गरि सकेकोले त्यो समस्याको अन्त्य हुने बताइन् । उनले त्यो कानून चाडै नै कार्यान्वयन गर्नेमा जोड दिइन् ।
‘यहाँका सहकारीलाई नियमन तथा व्यवस्थापन गर्न पहिला समस्या रहेको थियो, मन्त्री चौधरीले भनिन्–‘अब प्रदेश सरकारले कानुन ल्याइ सकेको छ, आफ्नो उद्देश्य अनुरुप काम नगर्ने सहकारीलाई प्रदेश सरकारले खारेजी पनि गर्छ ।’ कार्यक्रममा नेकपा कैलाली जिल्ला सदस्य दीर्घराज जोशी, कृषि ज्ञान केन्द्रका भूमिराज उपाध्याय, वडा नम्बर ७ की वडा सदस्य यमूना जोशी, सहकारीका कानूनी सल्लाहकार कृष्णप्रसाद सुवेदी, सल्लाहकार नन्दलाल राना लगायतले मनतव्य राखेका थिए । उहाँहरुले सहकारीलाई सेवामुखी, कृषकलाई सहुलियत दरमा ऋण प्रवाह गर्न सुझाएका थिए । भने सहकारीले गरिबी न्यूनकीरणमा समेत महत्वपूर्ण भूमिका खेलेको बताएका थिए ।
कार्यक्रम सहकारीकी अध्यक्ष चन्द्रकिरण रानाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सहकारीका लेखा समिति सदस्य सीताराम रानाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सहकारीकी व्यस्थापक निशा चौधरीले गरेकी थिइन् ।
सहकारीले २०७६÷०७७ असार मसान्तसम्म ३ करोड ३१ लाख ९६ हजार ३९५ रुपैया बराबर करोबार गरेको छ ।