सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा न्युरो सर्जरी सेवा सुरु हुँदै 
2020/12/13, 10:15
 
hospital

सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा न्युरो सर्जरी सेवा सुरु हुने भएको छ । अस्पतालमा न्युरो सर्जन उपस्थित भएकाले सो सेवा छिट्टै सुरु हुने अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले न्युरो सर्जरीका लागि छात्रवृत्तिमा एक जना चिकित्सक आएकाले छिट्टै सेवा सुरु हुने बताए ।

भेरी अञ्चल अस्पतालका न्युरो सर्जन डाक्टर हरि पौडेल सेती प्रादेशिक अस्पतालमा आएका हुन् । मेडिकल सुपरीटेन्डेन्ट डा. पाण्डेले भने, ‘न्युरो सर्जन आउनुभएको छ । सामान्य सेवा सुरु गरिएको छ । अन्य सेवाका लागि उपकरणहरू खरिद प्रक्रियामा रहेका छन् ।’ न्युरो सर्जरीका लागि आवश्यक अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था नगरी सेवा सुरु गरेको प्रचार गर्दा आम मानिसले दुःख पाउने भएकाले अहिले सेवा सुरु गरिएकोबारे जानकारी नगराएको अस्पतालले जनाएको छ ।

अहिले मस्तिष्कको चोट, मस्तिष्कको ट्यूमर, सेरेब्रल रक्तस्राव लगायतका समस्या भएका बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको पाण्डेले बताए । ‘न्युरो सर्जरीका लागि आवश्यक औजार उपकरणसँगै अस्पतालले आवश्यक जनशक्तिको पनि व्यवस्थापन गर्नेे तयारी गरिरहेको छ,’ उनले भने, ‘अहिले अस्पतालको आकस्मिक सेवाबाट २० जनालाई सेवा दिइसकेको छ भने टाउकाको दुईवटा सफल अप्रेशन पनि सफल भएको छ ।’

अस्पताल प्रशासनमा आवश्यक उपकरणहरू खरिदका लागि लिखित पठाइएको छ । सबै उपकरणहरू जडान भएमा न्युरो सर्जरीसम्बन्धी पूर्ण सेवा प्रदान गर्न सकिने अस्पतालले जनाएको छ । डाक्टर पौडेलले अपरेटिङ माइक्रोस्कोप उपकरण उपलब्ध भएमा मस्तिष्कका नसा फुलेर फुटेकोमा बाँध्ने, रगतका नसाहरूको गुच्छाको गडबडी र मस्तिष्कको क्यान्सरको शल्यक्रिया सम्बन्धी सेवा पनि सञ्चालन गरिने बताए । अस्पतालमा न्युरो सर्जरी सेवासँगै नाक, कान, घाँटीको सर्जरी लगायतका विभिन्न सेवाहरू पनि थप गर्ने तयारी भइरहेको छ । ‘अहिले हामी उपकरण र जनशक्ति व्यवस्थापनमा लागेका छौं,’ डा. पाण्डेले भने, ‘पूर्ण तयारी भएपछि थप गरिएका सेवाहरूबारे जानकारी गराउने छौं ।’