सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र कार्यालय प्रमुख विहीन भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले २७ असोजमा मन्त्रीस्तरीयको निर्णय गर्दै सेती प्रादेशिक अस्पतालमा कार्यरत रेडियोलोजिष्ट डाक्टर निरज अर्याललाई अर्को व्यवस्था नभएसम्म आर्थिक तथा प्रशासनिक अधिकार सहित निमित्त प्रमुखको जिम्मेवारी दिएको थियो ।
डाक्टर अर्यालअघि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डाक्टर गुणराज अवस्थीलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइएको थियो । आफूलाई हटाएर डाक्टर अर्याललाई जिम्मेवारी दिएपछि डाक्टर अवस्थीले १७ कात्तिकमा सामाजिक विकास मन्त्रालय, मन्त्री कृष्ण सुवेदी, सचिव रघुराम विष्ट, डाक्टर निरज अर्याल र मुख्यमन्त्रीको कार्यालय विरुद्ध उच्च अदालत दिपायलमा उत्प्रेषण लगायत जो चाहिने आवश्यक आदेश आज्ञा जारी गरी पाऊ भनी मुद्धा दायर गरेका थिए ।
उच्च अदालत दिपायलले १८ मंसिरमा स्वास्थ्य सेवा ऐन तथा नियमावलीले तोकेको सेवा, समूह तह र योग्यता पुगेका व्यक्तीलाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको प्रमुखमा नियुक्त गर्नु गराउनु भनी परमादेश जारी गरेको छ । यससँगै डाक्टर अर्यालको नियुक्तीमा कानुनी प्रश्न चिन्ह खडा भएपछि अहिले प्रदेश स्वास्थ्य आपूर्ति कार्यालय प्रमुख बिहीन बनेको छ ।
सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको प्रमुखको सेवा, समूह, तह र योग्यता पुगेको कर्मचारी छैनन् । मन्त्रालय डा. अवस्थी खरिदमा विवादित बनेपछि हटाइएको दावी गर्दै आएको थियो । तर, डाक्टर अवस्थीले भने आफूले अगाडि बढाएका खरिद प्रक्रिया विवादरहित रहेको दावी गर्दै आएका छन् ।
नैतिक संकटमा समाजिक विकास मन्त्रालय
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय नैतिक संकटमा परेको छ । मन्त्रालय गरेको मन्त्रीस्तरीय निर्णय उच्च अदालतले बदर गरेपछि प्रदेशमा सेवा, समूह तह र योग्यता मिल्ने कर्मचारी प्रदेशमा नै नभएपछि नैतिक संकटमा परेको छ । सुदूरपश्चिम प्रदेशमा विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरु निमित्त कार्यालय प्रमुख वा अर्को समूहका कर्मचारीले संचालन गरिरहेका छन् ।
सुदूरपश्चिम प्रदेशमा सेवा, समूह तह र योग्यता कर्मचारी नभएको भनी उच्च अदालतलाई पठाएको र जवाफको पर्खाइमा रहेको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताए ।