सुदूरपश्चिम प्रदेशका थप ६९ जनामा कोरोना संक्रमण पुष्टि
2020/12/13, 8:25
 
korona

सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा चार सयको परीक्षण गर्दा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बझाङ प्रयोगशाला र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ३७ जनाको परीक्षण गर्दा थप ६९ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए। 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ९ जनाको नमूना परीक्षण गर्दा ४१ जना, कमलबजार नगरपालिकाको प्रयोगशालामा ९४ जनाको नमूना परीक्षण गर्दा १५ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा २४ जनाको नमूना परीक्षण गर्दा ६ जना र जिल्ला अस्पताल बझाङमा ४० जनाको नमूना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको कार्कीले बताए।  

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उप–महानगरपालिकाका थप २१ जनामा संक्रमण देखिएको जानकारी दिए।   

कैलालीकै गौरीगंगा नगरपालिकाका ३ जना, गोदावरी नगरपालिकाका २ जना र टीकापुर नगरपालिकाका १ जनामा संक्रमण देखिएको छ।

यस्तै कञ्चनपुरको बेदकोट नगरपालिकाका ४ जना, शुक्लाफाँटा नगरपालिकाका र कृष्णपुर नगरपालिकाका २/२ जना र बेलौली नगरपालिकाका १ जनामा समेत संक्रमण पुष्टि भएको छ। 

त्यसैगरी डोटीका ५ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। 

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय २५ पुगेको छ। प्रदेशभर संक्रमण पुष्टि भएका १० हजार ७ जनाले कोरोना जितेका छन् भने ६४ जनाको मृत्यु भएको छ।