धनगढीमा कोरोना संक्रमित महिलाको शल्यक्रिया मार्फत सुत्केरी
2020/12/14, 6:52
 
corona

सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना संक्रमित महिलाको शल्यक्रियामार्फत सुत्केरी गराइएको छ ।  २६ वर्षीया उनलाई सुत्केरी बेथाले च्यापेपछि सेती प्रादेशिक अस्पतालको कोरोना संक्रमित महिलाहरूको प्रसुती तथा शल्यक्रिया कक्षमा आइतबार राति करिब साढे ११ बजेतिर शल्यक्रियामार्फत सुत्केरी गराइएको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. प्रतीक्षासिंह राठौरका अनुसार सेती अस्पतालमा कोरोनो पजिटिभ देखिएकी महिलाको पहिलोपटक शल्यक्रिया गरिएको हो । यसअघि रिपोर्ट नेगेटिभ आएपछि मात्र शल्यक्रिया गर्ने गरिएको थियो ।  गत साता अस्पताल भर्ना भएकी ती महिलाको दोस्रोपल्ट गरिएको परीक्षण रिपोर्टसमेत पजिटिभ आएको थियो । तर, अत्यधिक पीडा हुँदै गएपछि आइतबार राति डा. राठौरको टिमले शल्यक्रिया गरेको हो ।

शल्यक्रिया गरिएकी महिला र बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ । पहिलो र दोस्रोपल्ट समेत ती महिला शल्यक्रियामार्फत सुत्केरी भएकी थिइन् । तर, दुवै शिशुको मृत्यु भएको थियो ।