सुदूरपश्चिममा दुई महिनामा कोरोनाबाट ४८ जनाको मृत्यु भएको छ । कार्तिक र मंसीर महिनामा गरी कोरोनाबाट ४८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सुदूरपश्चिममा पछिल्लो एक महिनामा कोरोनाका कारण २८ जनाको मृत्यु भएको छ । ६ महिनामा कोरोनाबाट ६७ जनाको मृत्यु भएको छ ।
त्यसमा प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा भने ४६ जनाको मात्रै मृत्यु भएको छ । यसमा प्रदेश बाहिर कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या समावेश गरिएको छैन् । गत कार्तिकमा २४ जना र मंसीरमा २४ जनाको मृत्यु भएको छ । गत वर्षको चैतदेखि कोरोना संक्रमण फैलिएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो दुई महिनामा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक्कासी बढेको हो । कोरोना सुरु भएदेखि साउन मसान्तसम्म १२ जनाको मृत्यु भएको थियो । सुदूरपश्चिममा कोरोनाका कारण जेठ १८ गते बाजुराकी २ वर्षीया बालिकाको पहिलो मृत्यु भएको थियो । पछिल्लो चार महिनाको अवधिमा मात्र कोरोनाका कारण सुदूरपश्चिममा ५५ जनाको मृत्यु भएको तथ्यांक खबरकुञ्ज टीमको रहेको छ ।
मंसीर ३० गते विहानसम्म २३ जनाको मृत्यु भएकोमा ३० गते राति थप एक जना महिलाको उपचारका क्रममा नेपालगंजमा कोरोनाबाट मृत्यु भएको छ । पछिल्लो समय जोखिमयुक्त उमेर समूह र दीर्घ रोग भएकाहरुमा समेत संक्रमण बढ्न थालेपछि प्रदेशमा मृत्युदर बृद्धि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए । धनगढीको सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा मात्र मंसीरको २८ दिनमा १४ जनाको मृत्यु भएको छ । अस्पतालका अनुसार कार्तिक २८ गतेसम्म १३ जनाको मृत्यु भएकोमा मंसीर २८ मा आईपुग्दो सो संख्या बढेर २७ पुगेको छ भने कडा खालका संक्रमित बढेपछि अन्यत्र रेफर हुनेको संख्यामा समेत बृद्धि भएको छ । अस्पतालले मंसीरमा १२ जना गम्भीर संक्रमित उपचार सम्भव नभएपछि अन्यत्र रेफर गरेको छ । अहिले पनि १३ जनाको आइसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।
सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर निराजनदत्त शर्मा पौडेलले पछिल्लो समय कोरोनाको मृत्युदर बढ्नुको प्रमुख कारण स्वास्थ्य असावधानी भएको बताए । विगतमा जारी निषेधाज्ञा र लकडाउनका कारणले संक्रमणको दर पनि केही हदसम्म नियन्त्रण गर्न सकिएको तर पछिल्लो समय स्वास्थ्य सुरक्षाका मापदण्डको प्रयोग गर्न समेत वेवास्ता गर्दा संक्रमणसँगै मृत्युदर पनि बढिरहेको उनले बताए ।